सिलगडी :दार्जिलिङ पब्लिक स्कुलका निर्देशक विजय शाहले सरकारी शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिँदै सरकारले विद्यालयहरूलाई दिइने अनुदान रोकेर स्वायत्त विद्यालय बनाउनुपर्ने बताए। यसो गर्नसके सरकारी शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनसक्छ। विशेष अन्तर्वार्तामा उनले, सरकारले सीधै डीभीटी मार्फत विद्यार्थीहरूलाई शिक्षा अनुदान र भत्ता दिनुपर्ने बताए। उक्त भत्ताबाट विद्यार्थीले आफ्नो मनपर्ने शैक्षिक संस्थामा गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुविधा प्राप्त गर्न सक्नेछन्। यसले स्वचालित रूपमा सबै समस्याहरू समाधान गर्नेछ। यसो गर्नाले सरकारी र निजी विद्यालयमा राम्रो र स्वस्थ प्रतिस्पर्धा हुनेछ। यसले शिक्षाको गुणस्तर बढाउँछ। बङ्गालको शिक्षा प्रणालीमा भ्रष्टाचार पर्दाफास भएको विषयमा शाहले, भारतका प्राय सबै प्रदेशमा यस्तो अवस्था रहेको बताए। उनले भने, ‘हाम्रो देशमा सरकारी शिक्षा प्रणालीमा जवाफदेहीता नै छैन। कतै शिक्षा प्रणालीमा व्याप्त भ्रष्टाचारको पर्दाफास हुन्छ। यससँगै सरकारी विद्यालयले विभिन्न समस्या भोगिरहेको विजय शाहले बताए। देशको नयाँ राष्ट्रिय शिक्षानीति वैज्ञानिक भएको भन्दै उहाँले बालबालिकाको भविष्य उज्ज्वल बनाउन यसले ठूलो योगदान पुऱ्याउने बताए। यसलाई सही ढंगले कार्यान्वयन गर्न सके मात्रै सम्भव हुने उनको भनाइ छ।