१७ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा सोमवार चेन्नई सुपर किंग्सले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई ८ रनले पराजित गऱ्यो। एम चिन्नास्वामी स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै एमएस धोनीको कप्तानीमा रहने चेन्नई सुपर किंग्सले २० ओभरमा ६ विकेट गुमाएर २२६ रनको विशाल स्कोर बनायो। ओपनर डेवोन कनवेले ६ वटा छक्का र ६ वटा चौकाको साथ सर्वाधिक ८३ रन बनाए। यसबाहेक शिवम दुबेले ५ वटा छक्का र २ वटा चौकाको साथ ५२ रन बनाए। यी दुई बाहेक अजिंक्य रहाणेले ३७ रनको योगदान दिए। जवाफमा आरसीबी-ले २० ओभरमा ८ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो।

ओपनर विराट कोहली (६) र महिपाल लोमरोर (०)-लाई २ ओभरभित्रै गुमाएपछि कप्तान फाफ डू प्लेसिस र ग्लेन म्याक्सवेलले सक्दो प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। म्याक्सवेलले ८ वटा छक्का र ३ वटा चौकाको साथ ३७ बलमा ७६ रन बनाए। यसबाहेक डू प्लेसिसले ४ वटा छक्का र ५ वटा चौकाको साथ ३३ बलमा ६२ रन बनाए। यी दुईले तेस्रो विकेटको निम्ति तेजीको साथ १२६ रनको साझेदारी गरे तर यो साझेदारी तोड़िनको साथ चेन्नईको टीमले म्याचलाई नियन्त्रणमा ल्यायो।

त्यसपछि दिनेश कार्तिकले २८ रन बनाए पनि अरूले आशानुरुप प्रदर्शन गर्न नसक्दा आरसीबी पराजित भयो। चेन्नई सुपर किंग्सका बलरहरूमा तुषार देशपाण्डेले ३ र माथिसा पाथिरानाले २ विकेट हासिल गरे।