काठमाण्डौंः नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ। उनी मई महिनामा बेलायत भ्रमणमा जाने बुझिएको छ। राष्ट्रपति निकट स्रोतका अनुसार, बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन पौडेल बेलायत जाने तयारी भएको छ। भ्रमणबारे बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले जानकारी गराइसकेको बुझिएको छ।
राष्ट्रपति पौडेल मईको पहिलो हप्ता नै बेलायत जाने गरी परराष्ट्र मन्त्रालयले तयारी बढाइसकेको छ। चार्ल्सको राज्याभिषेक मई ६ मा हुने तय छ। मार्चमा राष्ट्रपति निर्वाचित भएपछि पौडेल विदेश भ्रमणमा गएका छैनन्। बेलायत गएमा उनको पहिलो विदेश भ्रमण हुनेछ। नेपाल र बेलायतबीच भारतमा उसको उपनिवेश छँदै कूटनीतिक सम्बन्ध रहँदै आएको छ। नेपालका गोर्खा सैनिक बेलायती सेनामा कार्यरत छन्।