खरसाङ: तीनधारेको महात्मा गाँधी हलमा नर्थ फ्रण्टियर रेलवे को-ओपरेटिभ सोसाईटी तीनधारेको १०९औं वार्षिक साधारण सभा सोसाइटीको चेयरम्यान कुमार भुजेलको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभामा दार्जिलिङ, खरसाङ, तीनधारे, सुकना, सिलगढी, एनजेपीबाट सोसाईटीका सदस्यहरू उपस्थित रहेका थिए। वार्षिक साधारण सभामा सोसाईटीको सचिव बिराज प्रधानले स्वागत सम्भाषण राखेका थिए। सभामा सोसाईटीको सिनियर एकाउन्टेन्ट बरूण रसाईलीले सोसाईटीको आय व्ययको हर हिसाब विस्तृत रुपमा जानकारी गराएका थिए। त्यसरी नै सभामा बिराज प्रधानले वर्षभरिको आफ्नो कार्यहरू विषयमा सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। सोसाईटीको अडिट रिपोर्ट सोसाइटीको प्यानल चेयरम्यान विकास भुजेलले प्रस्तुत गरेका थिए।

त्यसरी नै सोसाइटीको २०२२-२३, २०२३-२४ को बजेट फाँटवारी सोसाइटीको भाइस चेयरम्यान बिनोदकुमार छेत्रीले प्रस्तुत गरेका थिए। कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक, आईसीएसी, सीबीएससी, आईएससी परीक्षामा अस्सी प्रतिशतभन्दा बेसी अंक ल्याएर उत्तीर्ण भएका रेलवे कर्मचारी सोसाईटीका सदस्यहरूका डिपेन्डेन्ट छोरा छोरीहरूलाई प्रशस्ती पत्र, स्मृति चिह्न र नगदराशि पुरस्कारस्वरुप प्रदान गरिएको छ। यस क्रममा छायोनिका एच, अरूणिका एच र ज्योतिकुमारी मल्लिकलाई उक्त पुरस्कार प्रदान गरिएको छ। उक्त वार्षिक साधारण सभामा सोसाईटीको सदस्यहरू क्रमैले बिपिनकुमार बर्मा, सन्तोष विश्वकर्म, नरेन बम्जन, निमा यल्मो, राजेन रसाईली आदिले वक्तव्य दिन्दै आफ्ना आफ्ना सुझावहरू राखेका थिए। सभाध्यक्ष कुमार भुजेलले सोसाईटीको वार्षिक साधारण सभामा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।









