प्रत्येक मृतकका आश्रितहरूलाई ५ लाख रुपियाको आर्थिक सहयोग प्रदान गरिने मुख्यमन्त्रीको घोषणा
मुम्बईः रायगढ़ जिल्लाको नवी मुम्बईमा आयोजित महाराष्ट्र भूषण पुरस्कार कार्यक्रम अवधि गर्मीको कारणले अहिलेसम्ममा १२ जनाको मृत्यु भइसकेको छ। ४ जनाको स्थिति चिन्ताजनक छ भने सयभन्दा अधिक मानिसहरू बिमार भएका छन्। यी सबैको उपचार एमजीएम पनवेल, एमजीएम वाशी, डीवाई पाटिल, टाटा अस्पताल जस्ता विभिन्न अस्पतालहरूमा भइरहेको छ। मुख्यमन्त्री एकनाथ शिन्देले घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतकका आश्रितहरूलाई ५ लाख रुपियाँ सहयोग राशि प्रदान गर्ने घोषणा गरेका छन्। विभिन्न अस्पतालहरूमा उपचाराधिन सबै बिमारीहरूको खर्च पनि सरकारले नै बेहोर्नेछ। बिमारीहरूको उपचारमा तालमेल कायम राख्नको लागि सचिव स्तरका अधिकारीहरूलाई दायित्व सुम्पिइएको छ।
उल्लेखनीय छ कि गए आइतवार दिउँसो नवी मुम्बईको खारघरमा राज्य सरकारद्वारा महाराष्ट्र भूषण पुरस्कार समारोह आयोजना गरिएको थियो। समारोहमा समाजसेवक अप्पासाहेब धर्माधिकारीलाई केन्द्रिय गृहमन्त्री अमित शाहको बाहुलीबाट सम्मानित गरिएको थियो। कार्यक्रम सकिएपछि मानिसहरू गर्मीले बिमार हुन थालेका थिए। आइतवार रातीसम्ममा भीषण गर्मीको कारणले ११ जनाको मृत्यु भइसकेको थियो भने सोमवार बिहान कल्याण निवासी एक व्यक्तिको एमजीएम अस्पतालमा मृत्यु भएपछि मृतकहरूको संख्या १२ पुगेको छ। मृतकहरूमा महेश नारायण गायकर (४२), जयश्री जगन्नाथ पाटिल (५४), मञ्जूषा कृष्ण भोंबांडे (५१), स्वप्निल सदाशिव केनी (३०), तुलसीराम भाऊ वांगड ( ५८ ), कलावती सिद्धराम वैचल (४६), भीमा कृष्ण साल्वी (५८), सविता संजय पवार (४२), पुष्पा मदन गायकर (६४), वंदना जगन्नाथ पाटिल (२), विनायक हलदणकर तथा अर्को एकजना सामेल छन् जसमध्ये ८ महिला र ४ पुरूष छन्। एउटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन। उक्त घटना पश्चात मुख्यमन्त्री एकनाथ शिन्लेदे अस्पतालमा पुगेर बिमारीहरूसित भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिए। विधानसभामा नेता प्रतिपक्ष अजीत पवार, शिवसेना (उद्धव बालासाहेब ठाकरे पार्टी)- का अध्यक्ष उद्धव ठाकरे, विधानपरिषदमा नेता प्रतिपक्ष अम्बादास दानवेले पनि अस्पतालमा पुगेर बिमारीहरूसित भेट गरे। अजीत पवारले भने, यो राजनीति गर्ने समय होइन। सर्वप्रथम मृतकहरूको दाह संस्कार र बिमारीहरूको उचित उपचारमा ध्यान दिनुपर्छ।









