जलपाइगढी: भारत-बंगलादेशको सीमावर्ती इलाका हल्दीबाडी क्षेत्रका बासिन्दाहरू आजभोली एक स्कूल शिक्षिका प्रीति रायले बजाएको बाँसुरीको धुनमा मन्त्रमुग्ध भइरहेका छन्। एक गृहिणी हुनुका साथै शिक्षिकाको पेसा सम्हाल्दै आएका प्रीतिले नियमितरूपमा सङ्गीतको तालिम लिएकी छिन्। उनले सानै उमेरदेखि सङ्गीत सिक्न थालेकी थिइन। तर, २०१७ देखि भने उनी बाँसुरीको धुनप्रति आकर्षित भईन। त्यसयता उनको नियमित तालिम जारी छ। मौका मिल्दा प्रीतिले बाँसुरी बजाएर सबैलाई प्रभावित गर्छिन्। उनी मूलतः अलिपुरद्वार जिल्लाको फालाकाटा गाउँकी बासिन्दा हुन्। सहरबाट टाढा पिछडिएको गाउँकी केटी भएपनि शिक्षिका प्रीति रायले आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाइरहेकी छिन्। उनले एक वर्षअघि कुचबिहार जिल्लाको हल्दिबाडी क्षेत्रमा बस्ने शिक्षक असीम रायसँग विवाह गरेको बताइन। उनी स्थानीय विद्यालयमा पनि पढाइरहेकी छिन्। प्रीतिले अहिले गुरु पार्थ सरकारबाट बाँसुरी बजाउने तालिम लिएको बताइन्। यसैबीच सङ्गीत कलाकार प्रीतिले आफ्ना सहकर्मीको आग्रहमा आफ्ना छोरा-छोरीलाई पनि बाँसुरी बजाउन सिकाइरहेकी छिन्। कलाकार प्रीतिले आगामी दिनमा अवसर पाए विद्यालयका छात्राहरूलाई निःशुल्क बाँसुरी वादनको तालिम दिने बताइन्। घरपरिवारबाट पनि पूर्ण सहयोग पाएको उनको भनाइ छ।










