विकास समितिका महासचिव रविन खवासले बिक्रीबाट उठेको राशि सर्जक नरेन्द्र खड्कालाई हस्तान्तरण

07aa4c06-0fc6-46ab-aeb7-53f65458b103

बाग्राकोटः डुवर्स अहिले गतिशील छ। प्रतिकूल परिस्थिति र समस्याहरूसँग जुझ्दै पनि जातीय जागृति तथा साहित्य सिर्जनालाई प्रोत्साहन गर्न माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिको नेतृत्वमा डुवर्समा महत्त्वपूर्ण कार्यहरू भइरहेका छन्। यस्तै एउटा पहल ओझेलमा परेका विशिष्ट प्रतिभा नरेन्द्र खड्काको कविता-गीत-मुक्तक सङ्ग्रह ‘ज्योति-ज्वाला-ज्योत्स्ना’-को प्रकाशनलाई पनि मानिएको छ। अस्वस्थ्य शरीर र आर्थिक विपन्नतामा रहेका तर डुवर्सले गौरव गर्नुपर्ने विशिष्ट प्रतिभा नरेन्द्र खड़्काको काव्य-कृतिलाई प्रकाशित गरेर डुवर्सका सर्जकहरूले आफ्ना अग्रजप्रति सम्मानभाव मात्र प्रकट गरेका छैनन्, अपितु आफ्ना समृद्ध विरासतलाई आत्मसात गरी अघि बढ़्नुपर्ने उदारभाव पनि देखाएका छन् भन्ने चर्चा साहित्यिक माहौलमा सुनिन थालेको छ। यस्ता कार्यले डुवर्सेली युवा पुस्ताको फराकिलो सोच र चिन्तनलाई पनि सँगसँगै प्रकाशमान बनाएको छ।
डुवर्सका सर्जकहरूले गीत लेखनमा नरेन्द्र खड़्कालाई हरिभक्त कटुवालसँग तुलना गर्ने गरेको पाइन्छ। खड्काको तेस्रो कृति ‘ज्योति-ज्वाला-ज्योत्स्ना’-को आइतवार बाग्राकोटमा विमोचन भयो। उदार मन भएका साहित्यसेवीहरूका सहयोगमा डुवर्स नेपाली साहित्य विकास समितिले पुस्तकको प्रकाशन समितिले बताएको छ। नरेन्द्र खड्काको शारीरिक र आर्थिक अवस्थाप्रति सचेत बन्दै विकास समितिले विमोचन समारोहमा पुस्तक किनिदिन संस्थागत तथा व्यक्तिगत आह्वान गरेको थियो, सोहीअनुरूप त्यसदिन दश हजारभन्दा बढ़ी राशिको पुस्तक बिक्री भएको थियो। समारोहमा डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवासले बिक्रीबाट उठेको राशि दश हजार रुपियाँ समारोहमै सर्जक नरेन्द्र खड्कालाई हस्तान्तरण गरे। यसरी सबैको सहयोगमा संस्थाले पुस्तक प्रकाशन गर्न अनि सर्जकलाई आवश्यक परेको बेला केही राशि हस्तान्तरण गर्न सम्भव भएको बताउँदै उनले त्यसप्रति हर्ष प्रकट गरे। यसैगरी, पुस्तक प्रकाशनमा विशेष सहयोग गर्ने समाजसेवी जेबी छेत्री, साहित्यकार हरिश मोक्तान ‘अल्लरे’ अनि कथाकार अशोक रोकाप्रति पनि उनले आभार प्रकट गरे। विमोचन समारोहमा संस्थागत पुस्तक लिइदिएर सहयोग पुऱ्याउने संस्थानहरूमा बाग्राकोट उच्चतर माध्यमिक विद्यालय, साहित्य परिक्रमा परिवार, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, बाग्राकोट सांस्कृतिक मञ्च, अशोक रोका (व्यक्तिगत) लगायतप्रति पनि उनले कृतज्ञता जाहेर गरेका छन्। यो प्रथालाई जीवन्तता र निरन्तरता दिनुपर्ने आवश्यकतामाथि खवासले जोड़ दिए।
यो अभियानले सर्जकहरूलाई प्रेरणा र उत्साह प्रदान गर्ने निबन्धकार अजय खड़्काले बताए। सामाजिक अभियन्ता तथा सर्जकहरूलाई प्रोत्साहित गर्न आमाको नाममा ‘कृष्णमाया श्रेष्ठ स्मृति केन्द्र’ नै गठन गरिसकेका डुवर्सका परिचित कवि अनन्त श्रेष्ठले यस्ता कार्यले सबैतिर प्रोत्साहन र प्रवर्धन पाउनुपर्ने विचार राखे। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष मदन खड़काले यस्तो पहल सर्जकहरूका लागि प्रेरणाको स्रोत बन्ने अनि यसले साहित्य, साहित्यकार तथा सिर्जनालाई हेर्ने, पढ़्ने अनि बुझ्ने संस्कृतिमा धेरै प्रभाव पार्नसक्ने कुरा बताए। पुस्तक किनेर पढ़्ने संस्कृतिको विकास नेपाली भाषा-साहित्यको विकाससँग जोड़िएको छ- उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement