नरेन्द्र खड्काको ‘ज्योति-ज्वाला-ज्योत्स्ना’ (कविता-गीत-मुक्तक सङ्ग्रह)-को विमोचन

cc2c1374-124a-42f2-9f3c-d032f49d33dc

बाग्राकोटः “नरेन्द्र खड्काले आफ्नो गीत-रचना प्रतिभालाई प्रवाहमय बनाएको भए अनि उनले अवसर पाएका भए उनी हरिभक्त कटुवालभन्दा ठूला गीतकार हुनेथिए”, वरिष्ठ गीतकार एवं सुपरिचित बालकवि वसन्त थापाले पुस्तक लोकार्पण समारोहमा यस्तो मन्तव्य गरे। मार्मिक गीत लेखनमा ‘डुवर्सका हरिभक्त कटुवाल’-का रूपमा चिनिने विशिष्ट प्रतिभा नरेन्द्र खड्काकृत ‘ज्योति-ज्वाला-ज्योत्स्ना’ (कविता-गीत-मुक्तक सङ्ग्रह)-को विमोचन समारोहमा उनी बोल्दैथिए। आइतवार बाग्राकोटमा डुवर्स नेपाली साहित्य विकास समिति, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान र साहित्य परिक्रमा परिवारले संयुक्त रूपमा पुस्तक लोकार्पण समारोहको आयोजन गरेको थियो, जसमा अस्वस्थ्य अवस्थामै भए पनि सर्जक नरेन्द्र खड्का विशेष रूपले उपस्थित थिए। वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले अध्यक्षता गरेको कार्यक्रममा वरिष्ठ सङ्गीतकार रमेश गुरुङ प्रमुख अतिथि अनि वसन्त थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। अन्य अतिथिहरूमा वरिष्ठ समाजसेवी जेबी छेत्री, डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवास, साहित्यसेवी सितमकुमार मोक्तान, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानअध्यापक सागर शर्मा आसिन थिए।


आफ्नो सम्बोधनमा वसन्त थापाले नरेन्द्र खड़्कालाई विभिन्न दार्शनिक भावधारा, प्रतिभा अन्वेषणको पद्धति तथा अभिव्यक्ति-अभिव्यञ्जनाभित्रका सामाजिक सम्बन्धका पक्षहरूबाट चिनाउने प्रयास गरे। लोकले खड्काको तात्क्षणिक गीत लेखन प्रतिभालाई चिन्न नसकेको जिकिर गर्दै यदि उनको लेखन-दक्षता अविश्रान्त प्रवाहमय भएको भए उनी हरिभक्त कटुवालभन्दा माथि पुग्ने प्रतिभा रहेको थापाले टिप्पणी गरे। खड़्कालाई उसले ‘यस भेककै सर्वश्रेष्ठ गीतकार’-को संज्ञा दिए। बाल्यकालदेखि अहिलेसम्म पनि सर्जक खड्का आफ्नो जीवनको ‘हिरो’ रहेको उनले बताए। वरिष्ठ सङ्गीतकार रमेश गुरुङले तीन दशकअघि सिक्किमको एमजी मार्गमा खड़्कालाई भेट्दा उनले तत्कालै एउटा गीत सिर्जना गरेर दिएको रोचक प्रसङ्ग उल्लेख गर्दै त्यसमा आफूले सङ्गीत भरेको अनि पवन गोलेले त्यसलाई गाएको जानकारी दिए। उनले त्यो गीत गाएर पनि सुनाए। “डुवर्सले यसरी नै आफ्ना प्रतिभाहरूलाई चिनाउँदै लगोस् ”, उनले शुभकामना दिए। सर्जक नरेन्द्र खड़्काले यो उपस्थिति र सम्मानले आफ्नो हौसला बढ़ाएको बताउँदै पुस्तक प्रकाशन र कार्यक्रम आयोजनमा सहयोग पुऱ्याउने सबैप्रति आभार प्रकट गरे। “जब प्रेरणा बढ्छ, त्यसबेला लेख्ने हौसला पनि बढ्छ”, अस्वस्थ्य शरीरमा पनि उनको अनुहारमा एउटा छुट्टै खुशीको छाया थियो। वरिष्ठ कथाकार अशोक रोकाले खड्काले जीवनमा अनेकौं हण्डर खाए पनि नेपाली साहित्य र समाजलाई भने समृद्ध बनाएको बताए। उनले भने-“नरेन्द्र खड्कालाई हामीले १० प्रतिशत मात्र चिनेका छौं। आफ्ना पीर र मर्महरूलाई पचाएर साहित्यलाई सौन्दर्य प्रदान गर्ने सर्जक हुन् खड़्का।” गीत-संगीतप्रति रुचि र संगत भएका सितमकुमार मोक्तानले कर्म योञ्जनले खड्काका गीतमा संगीत भर्न काठमाडौं जाँदा गोपाल योञ्जनसँग भएका रोचक कुरा र उनका गीतको सामर्थ्यबारेको महत्त्वपूर्ण प्रसङ्ग उपस्थित दर्शकहरूलाई सुनाए। उल्लेखनीय छ, सत्तरको दशकमा नै खड्काका दुईवटा गीत नेपालका ख्यातिप्राप्त गायकहरू तारादेवी, शिवशंकर र नुपुर भट्टाचार्यले गाएका थिए भने नेपाल रोडियोबाट प्रसारित पनि भएका थिए।
आफ्नो अध्यक्षीय सम्बोधनमा गोपालसिंह विश्वले सत्तरको दशकमा नरेन्द्र खड़्कासँग डुवर्समा गरिएका साहित्यिक-सांगीतिक तथा सांस्कृतिक गतिविधिहरूबारे प्रकाश पारे। त्यसबेला बाग्राकोटमा सांस्कृतिक र साहित्यिक संस्था अनि व्यक्तिहरूबिच सकारात्मक एवं रचनात्मक प्रतिस्पर्धा रहेको रोचक प्रसङ्ग पनि उनले सुनाए। यसअघि, डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रविन खवासले स्वागत वक्तव्य राख्दै यस पुस्तकले सत्तर-अस्सीको दशकको इतिहासको पनि स्मरण दिलाएको बताए। विकास समितिले यस्तो महत् कार्य गर्न पाउँदा संस्थाले गर्व महसुस गरेको उनको भनाइ थियो। सम्पूर्ण कार्यक्रमलाई ‘ज्योति-ज्वाला-ज्योत्स्ना’-का सम्पादक एवं साहित्यकार रूपेश शर्माले सञ्चालन गरेका थिए। आफ्नो सञ्चालनको क्रममा उनले यो कृतिले खड्काको पुनःआविष्कार गरेको टिप्पणी राखे।
हालै दिवङ्गत भएका आख्यानकार विष्णु शर्मा अधिकारीको स्मरणमा एक मिनटको मौन धारणबाट शुरु भएको कार्यक्रममा सर्जक नरेन्द्र खड़्कालाई साहित्य परिक्रमा परिवारको तर्फबाट संवर्द्धना पनि जनाइएको थियो। सम्वर्द्धना-पत्र साहित्य-परिक्रमाका कर्मठ सदस्य रूपनारायण प्रधानले पठन गरेका थिए भने वरिष्ठ समाजसेवी जे.बी. छेत्री र बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष मदन खड्काका बाहुलीबाट खड़्कालाई सम्मानित गरिएको थियो। यस अवसरमा नरेन्द्र खड़्काका दाजु तथा भाषा संग्रामी नेत्र खड्काले पनि सम्बोधन गरेका थिए। सर्जककी नातिनी सुष्मिता छेत्रीले खड्काको कवितालाई सुन्दर भावका साथ पठन गरिन्। कार्यक्रमको शुरुमा निबन्धकार अजय खड्काले नरेन्द्र खड्काको कृति प्रकाशनको महत्त्व र कार्यक्रमको गरिमामाथि प्रकाश पारे। कार्यक्रममा महिलावर्ग, स्थानीय जनसाधारण, साहित्यकार, बुद्धिजीवी, कवि, लेखक, शिक्षक-शिक्षिकागण आदिको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement