दार्जीलिङ: दार्जीलिङमा आयोजित जी-२० सम्मेलनमा जी-२० समूह देशका राजदूत अनि शिर्षस्थ पर्यटन प्रतिनिधिहरूको उपस्थितिले दार्जीलिङलाई विश्वको पर्यटन मानचित्रमा राख्न सफल बनेको छ। उपस्थित प्रतिनिधिहरूले आयोजीत कार्यक्रमप्रति सन्तुष्टि प्रकट गरेका छन्। उनीहरूले दार्जीलिङको जी-२० सम्मेलन स्मरणीय रहेको बताएका छन्। हर्षवर्धन श्रीङ्गला सिंग्रालाले, चौरस्तामा आयोजित सांस्कृतिक कार्यक्रम, जहाँ दार्जीलिङ पहाडको संस्कृतिलाई झलकाइएको थियो, मुग्ध कण्ठले प्रशंसा गरेका छ्न्।
उनले जीटीए प्रमुख कार्यपाल अनित थापाको सराहना गर्दै भनेका छन्, ‘तपाईंको व्यक्तिगत प्रतिबद्धता अनि निरीक्षणको कारण नै दार्जीलिङको जी-२० सम्मेलन सफल भएको हो। म कृतज्ञ छुl’ दार्जीलिङको सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न जति प्रयासहरु गरिए, त्यही प्रयासको कारणले दार्जीलिङ जिल्लाको शहरिया वातावरणमा देखिने गरी उत्थान आएको छ। म विश्वस्त छु, यसको परिणाम पछिसम्म रहिरहनेछl’ एक पत्र मार्फत मुख्य संयोजक हर्षबर्धनले जीटीए प्रमुख अनित थापालाई उपर्युक्त भाव प्रकट गरेका छन्।