गान्तोक: पालकर्मा जुरमाङ काग्यु वंशको स्थापनाको 600औं वर्षगाँठको अवसरमा आज गान्तोक नजिक लिङदोम गुम्बामा राज्यका मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा भव्यताका साथ कार्यक्रम सम्पन्न भयो। आजकै दिन तिब्बतको खाममा पालकर्मा जुरमाङ सेडुप छेकर्लिङ लिङदोम गुम्बाको ठुङ मासे लोडु रिञ्छिनले स्थापना गरेका थिए। यस कार्यक्रममा १२औं गोशिर ग्यालछाप रिम्पोछे, जुरमाङ गारवाङ रिम्पोछे, बोखर छोगतुर रिम्पोछे अनि गोञ्जाङ रिम्पोछेको विशेष उपस्थिति रहेको थियो। मुख्य अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले ठुङ मासे जुरमाङ काग्यु वंशका संस्थापक रहेको उल्लेख गर्दै पाँचौं कर्मापाको निर्देशपछि युवा ठुङ मासे धर्म प्रचारमा लागेको अवगत गराए। १९६९-मा चीनियाँहरूले तिब्बत कब्जा गरेपछि अधिकांश बौद्ध गुरुहरू त्यहाँबाट विस्थापित भएर विश्वभरि छरिएर बसेको जानकारी गराउँदै मुख्यमन्त्रीले काग्यु वंशका रिम्पोछेले गरेको मार्गदर्शनको सराहना गरे। वर्तमान सरकारले सर्वधर्मलाई समान रूपमा सम्मान प्रदान गरेको उल्लेख गर्दै मुख्यमन्त्रीले काग्यु वंशको पनि वर्तमान सरकारप्रति सधैं आशीर्वाद रहेकोमा उनले कृतज्ञता व्यक्त गरे। चार-चारजना रिम्पोछेहरूसित आज एकै ठाउँमा बसेर आशीर्वाद लिनु पाएको साथै वहाँहरूसँग एकक्षण भएपनि बसेर समय बिताउनु पाएकोमा आफूलाई सौभाग्यशाली ठानेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा बताए।
कोरोनाको चरम अवस्थामा पनि राज्यले उल्लेखनीय कार्य गरेको स्मरण गराउँदै मुख्यमन्त्री गोलेले पर्यटनलाई बढ़ावा दिन धार्मिकस्थलहरूको पूर्वाधार निर्माणमा सरकारले पहल गरिरहेको जानकारी गराए। यस कार्यको निम्ति धर्मगुरु, रिम्पोछेहरूको सधैं आशीर्वाद रहने मुख्यमन्त्री तामाङले अपेक्षा जाहेर गरे। यस सेडा निर्माणको निम्ति धनराशि आवण्टन गरिदिने उनले वचन दिंदै ग्यारवाङ रिम्पोछेको पहलको पनि मुख्यमन्त्रीले सराहना गरे। मानिसको जीवनमा नियन्त्रण ल्याउन धर्मले मात्र सक्ने मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा बताए।
राज्यका हरेक स्थलमा रिम्पोछेहरूको आशीर्वादले गर्दा त्यहाँ शान्ति, समृद्धि आएको मन्तव्य जाहेर गर्दै भौतिक जीवनबाट केही समय निकालेर हामीले धर्मलाई समय दिनुपर्ने मुख्यमन्त्री गोलेले आज आफ्नो सम्बोधनमा बताए। मुख्यमन्त्री गोलेले यस गुम्बातर्फ आउने लिङ्क सड़कको कार्पेटिङ गरिदिने विभागका सचिवलाई निर्देशन दिएका छन्।
कार्यक्रमलाई धर्म मन्त्री सोनाम लामाले पनि सम्बोधन गरेका थिए भने मन्त्री केएन लेप्चा, क्षेत्र विधायक सोनाम भेन्चुङपा, विभिन्न देशहरूबाट आएका विशिष्ट अतिथिहरू एवं श्रद्वालु भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।