गान्तोक: सिटिजन एक्शन पार्टी (सीएपी) ले राज्यमा आपराधिक घटनाहरू बढ्न थालेको बताउँदै गम्भीर चिन्ता प्रकट गरेको छ। सीएपीले सिक्किमका छोरी चेलीहरू राज्यका साथै राज्य बाहिर पनि सुरक्षित नरहेको बताएको छ।
सीएपी प्रवक्ता बिना शर्माले राज्यमा छोरी-महिलाहरू विरूद्ध आपराधिक घटना बढ्न थालेको आज जारी एक प्रेस विज्ञप्तिमा बताएकी छन्। राजधानी छेउ पाङथाङमा एक नाबालिगको संदिग्ध अवस्थामा शव भेटिएको र मल्ली चेकपोस्टमा जोय मण्डल नामक व्यक्तिले एउटी युवतीलाई सिलगढीतिर लगिरहेको स्थितिमा पक्राउ गरिएको बताउँदै छोरीहरू कहिलेसम्म असुरक्षित रहनुपर्ने भनी प्रश्न गरेकी छन्।
यस्ता आपराधिक घटनाहरूमा संलग्न आरोपितहरूलाई पक्राउ गर्न नसकिरहेको अवस्था रहेको उनले बताएकी छन्। छोरीहरू हराएको खबर लगभग प्रत्येक दिन आउने गरे तापनि यसलाई गम्भीरतापूर्वक कसैले नलिएको पनि उनले आरोप लगाएकी छन्। सरकारले एकातिर आमा योजना, बहिनी योजना लागू गरेर नारीहरूलाई उठाउन कुरा गरिरहेको छ भने अर्कोतिर अभिभावकहरूमा असुरक्षाको भावना बढ्दो रहेको बताएको छ। सीएपीले यी विषयहरूलाई गम्भीरतापूर्वक लिएर छोरीहरूको सुरक्षाको निम्ति ठोस कदम उठाउन सरकार समक्ष माग गरेको छ।