ग्वालपाड़ा: ग्वालपाड़ा जिल्लाको कृष्णाईको पाईकान क्षेत्रमा पुलिसले अभियान चलाएर एउटा बसबाट धेरै मात्रामा विस्फोटक सामग्री उद्धार गरेको मामिलामा एक व्यक्तिलाई पक्राउ गरिएको छ।पुलिस सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा चलाइएको अभियानमा बस (एएस-२५ एसी-५४७५) बाट ११६२ जिलेटिनको रड एवं ९९८ डेटोनेटर उद्धार गरिएको छ। जफत गरिएको विस्फोटक सामग्रीलाई मेघालयको खासी हिल्सको लाटरूमबाईबाट ग्वालपाड़ा हुँदै दक्षिण शालमारा-मानकचार जिल्लाको मानकचार लगिन्दैथियो। यस मामिलामा अब्दुल मालिक (३९) नाम गरेको व्यक्तिलाई पक्राउ गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी पक्रा परेको आरोपितसित सघन सोधपुछ गरिरहेछ। यद्यपि, यति भारी मात्रामा विस्फोटक किन ल्याइएको थियो, यसबारे थाहा लाग्न सकेको छैन। सूत्रहरूले विस्फोटकहरूलाई सम्भवतः खानीमा ढुंगा फुट्याउनका निम्ति ल्याइएको आशंका व्यक्त गरेको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।











