वाराणसी: खरसाङमा जन्मेकी, उत्तर बङ्ग विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर र शास्त्रीय गायनमा सुप्रशिक्षित, वर्तमान काठमाडौँमा शास्त्रीय संगीतविषयमा उच्चाध्ययन गरिरहेकी, सिक्किमकी प्रथम हिमालयन आइडल र सम्प्रति स्थापित गायिका वाणिका प्रधानलाई काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा सम्मान गरियो। वर्षेनि काशीमा हुने सप्ताहव्यापी संकट मोचन संगीत समारोहको यस वर्षको शताब्दी समारोहमा प्रतिभागी हुन आएकी लब्धप्रतिष्ठ गायिका वाणिका प्रधानसित काहिविवि-को भाभावि-मा भेटघाटको कार्यक्रम राखिएको थियो।
शोधार्थी यादव सापकोटाले मङ्गलाचरण गरेपछि सबैजनाले कुलगीत गायन गरे। सभासद्का रूपमा भेला भएका शोधार्थी-विद्यार्थीहरू र गायिका वाणिकाबिच रोचक सम्भाषण भयो। शोधार्थी इन्द्रमान सुब्बा, शोधार्थी क्रिस्टिना दर्जी र विद्यार्थी कुमार प्रधानले पालैपिलो गीत गाएर सुनाए। सभासद्हरूको आग्रहमा वाणिकाले पनि गोपाल योञ्जनको शब्द र संगीतमा नारायणगोपाल गुरुबाचार्यको स्वरको गीत ‘ए मलाई माया गर्छु भन्ने हजुर’ गाएर सुनाइदिइन्। नवपिँढीका कतिपय युवा सभासद्हरूले नसुनेका भएर पनि कोकिलकण्ठाबाट सुनेपछि गीत सदाहरित सिद्ध भएको स्वीकार गरे। वर्तमान पिँढीमा संगीतको अभिनव चेतना पल्लवित भएको छ भन्दै प्रतिभालाई व्युत्पत्ति र अभ्यासले प्रोन्नत गराउनुपर्नेबारे वाणिकाले आफ्नो मन्तव्य प्रस्तुत गरिन्।