जम्मूः जम्मू-कश्मीरमा प्रत्येक वर्ष झैं यस वर्ष पनि श्री बाबा अमरनाथ यात्राको तयारी तीव्र गतिमा भइरहेको छ। यसपालि आगामी १ जुलाईदेखि ३० अगस्त (रक्षाबन्धन) सम्म हुने उक्त यात्राको लागि जम्मू-कश्मीरका २० वटा ब्यांक शाखाहरूमा सोमवारदेखि अफलाइन पञ्जीकरण प्रक्रिया शुरू भइरहेको छ। यसको लागि देशभरिमा चारवटा ब्यांकका ५४२ शाखाहरूमा पञ्जीकरण गराइनेछ।
जम्मू जिल्लामा सबैभन्दा अधिक छःवटा ब्यांक शाखाहरू चिहित गरिएको छ। यस बाहेक डोडामा २, कठुआमा २, राजोरी, पुँछ, रामबनमा १-१, रियासीमा २, श्रीनगर, उधमपुरमा १-१, साँबामा २ र रामबनमा १ ब्यांक शाखामा यात्रीहरूको पञ्जीकरण हुनेछ। यसको लागि श्राइन बोर्डको वेबसाइटबाट डाउनलोड गरिएको फारममा तीनवटा फोटो सहित १६ अप्रेलपछि जारी गरिएको स्वास्थ्य प्रमाण-पत्र संलग्न गर्नुपर्छ।
यस वर्ष पहिलो पटक अमरनाथ यात्रा ६२ दिनभित्रमा समाप्त हुनेछ। अमरनाथ यात्रा अवधि पवित्र गुफामा बिहान-साँझ हुने आरतीको प्रत्यक्ष प्रसारण गरिनेछ। श्रीअमरनाथ श्राइन बोर्डले यात्रा मार्गमा स्थापित विभिन्न शिविरहरूमा सुविधाको लागि टेण्डर जारी गर्ने प्रक्रिया पनि शुरू गरेको छ। शिविरहरूमा सुविधा अनि पौनी र पालकीवालहरूको सेवाको लागि पनि प्रक्रिया शुरू भइसकेको छ। यात्राको पहलगाम र बालटान दुवै मार्गमा शिविर तयार गर्नु, मरम्मत कार्य सहित अन्य ढाँचागत सुविधाहरूको लागि टेण्डर निकालिएको छ। नीलग्रथ हेलीप्याड नजिक क्याफटेरियाको लागि पनि टेण्डर मागिएको छ।