भारतीय खस संरक्षण समितिको आयोजनामा राजाभातखावामा पहिलो बैसाख उत्सव

994fd719-1114-44b3-934b-62258e88ba41

कालचिनीः नेपाली नयाँ बर्ष पहिलो बैसाखको उपलक्ष्यमा आईतबार कालचिनी खण्डको राजाभातखावा स्थित श्री श्री गौशाला परिसरमा भारतीय खस संरक्षण समितिको आयोजनामा भव्यताको साथ पहिलो बैसाख उत्सव सम्पन्न भयो। आईतबार उक्त अवसरमा भारतीय खस संरक्षण समितिको अध्यक्ष कृष्णबहादुर कार्की सचिव सुदर्शन पाँड़े छेत्री, कोषाध्याक्ष चन्दन भट्टराई लगायत मुख्य अतिथिको रुपमा व्यास गुरुजी लक्ष्मी नारायण भट्टराईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली गोर्खा समाजका अन्यान्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रारम्भमा राष्ट्रिय तिरंगा झण्डा साथै समितिको पताका उत्तोलन व्यास गुरुजी लक्ष्मी नारायण भट्टराई र समितिको अध्यक्ष कृष्णबहादुर कार्कीको बाहुलीबाट गरिएको थियो।
समितिको संयोजक अभिनारायण निरौलाको सञ्चालनमा सम्पन्न कार्यक्रममा दीव प्रज्वलन एवम् मष्ट अर्थात कूल पूजा खस धामीद्वारा एवम् वेदपाठ खोक्ला बस्ती गुरुकुल आश्रमबाट आएका विद्यार्थीहरूद्वारा गरीएको थियो। कार्यक्रममा स्वागत वक्तव्य समितिको सचिव सुदर्शन पाँड़े छेत्रीले राखेको थियो भने खस जातिको इतिहासमाथि राजीव घिमिरेले सम्भाषण राखेको थियो।
कार्यक्रममा खस जातिको १६ वटा कर्मकाणडको प्रस्तुति देखाईएको थियो भने यसभित्र न्वारन, जन्मदिन, छेवार, अन्न प्रसान्न गुन्यु चोली, वर्तमान,विवाह आदि कर्मकाणडको झलक देखाईएको थियो। यसै क्रममा खस जातिको संगीनी, बालन, मारुनी नृत्य साथै खाँड़ो जगाउने, विवाहमा श्लोक जुधाउने एवम् अन्यान्य संस्कृतिको प्रदर्शन पनि गरिएको थियो। कार्यक्रममा अलिपुरद्वार जिल्लाको सुदुर पूर्व कुमारग्राम खण्डदेखि कालचिनी खण्डको विभिन्न चियाबारी गाउँ बस्ती आदि क्षेत्रहरूबाट खस प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
मूलतः नेपाली नयाँ बर्ष २०८० लाई स्वागत जनाउँदै एवम् भारतीय खस संरक्षण समितिको नै पहिलो जमघटलाई पहिलो बैसाखको रुपमा पालन गर्दै खस जातिको संस्कृति र परम्परा जगेरा गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरीएको र नेपालीभाषी खस जातिको आफ्नै जनजातिय धार रहेको र खस जाति पनि जनजातिको परिधिमा पर्ने जाति रहेको बताउनलाई भारतीय खस संरक्षण समितिको लक्ष्य रहेको समितिको अध्यक्ष कृष्णबहादुर कार्कीले जनाएका छन्। आगामी दिनमा समितिले ठूलो कार्यक्रमको आयोजना गर्ने र खस जातिलाई एकताको सुत्रमा ल्याउन काम गरीने समितिको सचिव सुदर्शन पाँड़े छेत्री र कोषाध्याक्ष चन्दन भट्टराईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement