१६ अप्रेलः कप्तान बाबर आजमको शतकको सहायताले पाकिस्तानले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्यूजील्याण्डलाई ३८ रनले पराजित गऱ्यो। लाहौरको गद्दाफी स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै आयोजक पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनायो। कप्तान बाबर आजमले ५८ बलमा ११ वटा चौका र ३ वटा छक्काको साथ अविजित १०१ रन बनाए। उनले पहिलो विकेटको निम्ति मोहम्मद रिजवान (३४ बलमा ५० रन)-सँग ६४ बलमा ९९ रनको पार्टनरशीप गरे। रिजवानले ६ वटा चौका र एउटा छक्का लगाए। पाकिस्तानले पछिबाट रिजवान, फखर जमान (०) र सईम अयुब (०)-लाई भटाभट गुमाए पनि बाबरले इफ्तखार अहमदसँग पाँचौं विकेटको निम्ति ८७ रनको अटूट साझेदारी गरी टीमलाई असल स्कोरसम्म पुऱ्याए। इफ्तखारले १९ बल खेलेर ३ वटा छक्का र एउटा चौका लगाए। जवाफमा न्यूजील्याण्डले शुरुदेखि नै विकेट गुमाउन थाल्दा २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। मार्क चापम्यानले ४० बलमा अविजित ६५ रन बनाए। उनले ४ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक चाड बावेसले २६ र कप्तान टम लाथमले १९ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा हारिस रऊफले सर्वाधिक ४ विकेट लिए। न्यूजील्याण्डको टीम आईपीएलमा खेलिरहेका आठ प्रमुख खेलाड़ी अनि चोटग्रस्त केन विलियम्सन बिना पाकिस्तान यात्रामा गएको छ। यस जीतको साथै पाकिस्तानले ५ वटा म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो।