काठमाडौं: नवनियुक्त विदेशमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गराइएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सांसद साउदलाई विदेशमन्त्री बनाउन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन्l साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए। वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ शहरी विकासमन्त्री बनेका थिए। यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएका छन्।