१६ अप्रेलः ईंग्लिश प्रीमियर लीगमा फर्ममा रहने म्यानचेष्टर सिटीले आफ्नो विजयाभियानलाई जारी राख्यो भने खराब फर्ममा रहने चेल्सी चाहिँ फेरि हारको सम्मुखीन भयो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले लिस्टर सिटीलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट युवा स्ट्राईकर एर्लिंग हालाण्डले २ गोल गरे। उनले १३औं (पेनल्टी) र २५औं मिनटमा गोल गरे। यसबाहेक एक गोल जन स्टोन्सले पाँचौं मिनटमा गरे। लिस्टर सिटीबाट केलेची इहानाचोले ७५औं मिनटमा गोल गरे। यस जीतपछि सिटी ३० वटा म्याचमा ७० पोइण्टको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो अनि अहिले उनीहरूसँग शीर्ष स्थानमा रहने आर्सनलभन्दा केवल ३ पोइण्ट कम्ती रहेको छ। यसरी नै लिस्टर सिटी केवल २५ पोइण्टको साथ १९औं स्थानमा रहेको छ।
सिटीले सजिलै जीत हासिल गरे पनि चेल्सी र टोटनह्याम हट्स्पर चाहिँ पराजयको सम्मुखीन भयो। चेल्सीलाई ब्राइटनले २-१-ले पराजित गऱ्यो। केही दिन अघि मात्र च्याम्पियन्स लीगको क्वार्टर फाइनल राउण्डको पहिलो लेगमा रियल म्याड्रिड विरुद्ध २ गोल खाने चेल्सीले यसपाली आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा समर्थकहरूलाई निराश बनायो। म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राइटनबाट डेनी वेलबेकले ४२औं र जूलिओ एनसिसोले ६०औं मिनटमा गोल गरे। यसरी नै चेल्सीबाट कोनोर गाल्लाघेरले १३औं मिनटमा गोल गरे।

यस हारपछि शीर्ष दशबाट बाहिर हुने चेल्सी अहिले ३१ वटा म्याचमा ३९ पोइण्टको साथ ११औं स्थानमा रहेको छ। ब्राइटन चाहिँ २९ वटा म्याचमा ४९ पोइण्टको साथ सातौं स्थानमा रहन पुग्यो। टोटनह्यामले पनि आफ्नो होम ग्राउण्डमा बोर्नमाउथ विरुद्ध ३-२-ले हारको सामना गर्नु पऱ्यो। टोटनह्यामको होम ग्राउण्डमा लगभग अन्तिम क्षणसम्म पनि स्कोर २-२-को बराबरीमा रहेको थियो तर डांगो ओवाट्टाराले स्टपेज टाइमको पाँचौं मिनटमा गोल गरी बोर्नमाउथलाई रोमाञ्चक जीत दिलाए। यसअघि टोटनह्यामबाट सोन ह्युंग-मिनले १४औं र अर्नट डानजुमाले ८८औं मिनटमा गोल गरे। यसरी बोर्नमाउथबाट मातिआस भिनाले ३८औं र डोमिनिक सोलांकेले ५१औं मिनटमा गोल गरे। यस हारपछि टोटनह्याम ३१ वटा म्याचमा ५३ पोइण्टको साथ पाँचौं स्थानमा कायम रह्यो।

यसरी ३४ पोइण्ट लिएर बोर्नमाउथ १४औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा एस्टन भिल्लाले न्यूक्यासललाई ३-०-ले, क्रिस्टल प्यालेसले साउथम्प्टनलाई २-०-ले, फूलहामले एभर्टनलाई ३-१-ले अनि वूल्भ्सले ब्रेण्टफोर्डलाई २-०-ले पराजित गऱ्यो।










