वैशाखी पर्वलाई एकताको पर्वको रुपमा पालन गर्नुपर्छः मुख्यमन्त्री तामाङ
नाम्ची। दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरिएको राज्यस्तरीय दुई दिवसीय वैशाखी पर्वको आज समापन भयो। नाम्ची सांस्कृतिक मञ्चद्वारा आयोजित समारोहको समापन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थिति थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङ दुई दिवसीय भव्य कार्यक्रम सफलतापूर्वक आयोजन गरेकोमा नाम्चीका सम्पूर्ण जनतालाई बधाई दिए। नेपाली जातिको संस्कृतिक परम्परा धेरै नै धनी रहेको बताउँदै यसलाई जगेरा गर्नु सम्पूर्ण सिक्किमेको कर्तव्य रहेको मन्तव्य व्यक्त गरे। उनले यस कार्यक्रमलाई अबदेखि प्रत्येक वर्ष नै भव्यतासित पालन गर्ने सुझाउ दिए। तर, वैशाखी पर्वमा केवल नाचँ गान नगरेर वैशाखी पर्वको महत्वबारे पनि जानकारी गराइनुपर्ने मुख्यमन्त्रीले सुझाउ दिए। वैशाखी पर्वलाई एकताको पर्वको रुपमा पालन गरिनुपर्ने उनले बताए। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री गोलेले वर्तमान राज्य सरकारले विभिन्न जातीय एवं धार्मिक पर्वहरू पालन गर्नको निम्ति पूर्ण रुपमा स्वतन्त्रता दिएको कुरा दोहोऱ्याए। यसले गर्दा अहिला राज्यमा कला, साहित्य, संस्कार अनि संस्कृति पुनर्जीवित बनेर गएको उनले दावी गरे।