मेघालय: जूलोजिकल सर्वे अफ इण्डिया (जेएसआई) का अन्वेषकहरूले मेघालयको दक्षिणी गारो हिल्स जिल्लामा अवस्थित सिजु गुफाको गहिराइ भित्र भ्यागुताको नयाँ प्रजाति फेला पारेका छन्। सिजु गुफा चार किलोमिटर लामो प्राकृतिक चुनढुङ्गा गुफा हो। भ्यागुताको नयाँ प्रजाति यहाँ सन् २०२० को जनवरीमा करिब ६०-१०० मिटरको गहिराइमा फेला परेको थियो।
जेएसआई, उत्तरपूर्वी क्षेत्रीय केन्द्र, शिलङका शोधकर्ता भास्कर साइकिया बताउँछन्, ‘यस अध्ययनले मेघालयको दक्षिण गारो हिल्स जिल्लाको सिजु गुफाभित्रको गहिराइबाट क्यास्केड रेनिड भ्यागुताको नयाँ प्रजाति पत्ता लगाइएको छ। यो अनुसन्धान जेडएसआई, पुणेको पश्चिमी क्षेत्रीय केन्द्रका अनुसन्धानकर्ताहरूसँगको सहकार्यमा गरिएको होl’ सिजु गुफामा भेटाइएकोले यसैको नामबाट नयाँ प्रजातिको भ्यागुतालाई एमोलोप्स सिजु नाम दिइएको छ। यस नयाँ प्रजातिको विवरण शोधपत्र जर्नल अफ एनिमल डाइभर्सिटीमा प्रकाशित भएको छ।
अन्वेषकहरू बताउँछन्, ‘भ्यागुताको रूप-रंग गुफाको अनौठो परिस्थितिक तन्त्र अनुरूप विशिष्ट प्रकृतिको छ। क्यास्केड एमोलोप्स भ्यागुताका अन्य ज्ञात प्रजातिहरूबाट एमोलोप्स सिजुको छुट्टै पहिचान पत्ता लगाउन भ्यागुताको तन्तुका नमूनाहरूको आणविक अध्ययनहरू गरिएको छ। यसका लागि जेएसआई, उत्तर पूर्वी क्षेत्रीय केन्द्रको टोलीले जेएसआई, पुणे, जसको आफ्नै स्थापित आणविक प्रयोगशाला छ, उनीहरूका सहकर्मीहरूको मद्दत लिएका थिए।
गुफा इकोसिस्टममा निरन्तर आर्द्रता र तापक्रमको कारण, भ्यागुता गुफाको लुक्ने ठाउँहरूमा बस्न जान्छन्। जेएसआईका अनुसन्धानकर्ताहरूको टोलीले लामो समयदेखि सिजु गुफाको सर्वेक्षण गर्दै आएको थियो। तिनीहरूको उद्देश्य गुफाको जीवजन्तु विविधतालाई दस्तावेजीकरण गर्नु थियो, जस्को १९२२ मा मात्र वैज्ञानिक रूपमा अन्वेषण गरिएको थियो। ३ जनवरी २०२० मा, अन्वेषकहरूले गुफाभित्रबाट एमोलोप्स वंशजको रेनिड भ्यागुताका चारवटा नमूनाहरू सङ्कलन गरे। गुफाको प्रवेशद्वारको केही मिटर भित्र भ्यागुताहरू फेला पर्नु सामान्य कुरा हो। तर, सिजुमा अन्वेषकहरूले प्रवेशद्वारबाट करिब १०० मिटर दूरीमा नमूना सङ्कलन गरेका थिए। गुफा भित्र जति गहिराइमा गईन्छ त्यति नै नयाँ प्रजाति भेट्ने सम्भावना बढ्दै गएपछि अनुसन्धानकर्ताहरू त्यसो गर्न उत्साहित थिए।