सिलगढी: नेपाली इसाई चलचित्र ‘यथार्थ’ को आज सिलगढीमा प्रिमियर सम्पन्न भएको छ। निर्माता दिपक सोलोमन राईद्वारा निर्माण गरिएको उक्त नेपाली इसाइ चलचित्र यथार्थको पटकथा, सम्वाद पनि उनकै रहेको छ। नायक अतित सुब्बा, नायिका बिपना थापा, आरजे समीर छेत्री, मिना थापा, पा सुरेन खवास आदिको मुख्य अभिनय रहेको नेपाली इसाई चलचित्र ‘यथार्थ’लाई सिरकुमार साम्पाङले निर्देशन गरेका छन्। यस फिल्मको छाँयाकन भारतको कालेबुङका विभिन्न स्थानहरू र नेपालको केही स्थानहरूमा पनि छाँयाकन गरिएको छ। फिल्ममा गीत संगीत दिपक सोलोमन राई, अतित सुब्बा, एन्जिला मोक्तान, जुही बसुमतरी, पास्टर सुनाम काबो आदिको रहेको छ। यस इसाई नेपाली फिल्म यथार्थको निर्माण २०१९ मै गरिएको भए पनि कोरोनाको कारणले यसलाई उक्त समयमा प्रदर्शन गर्न सकेको थिएन भने गत केही केही समयदेखि यसलाई विभिन्न स्थानहरूमा प्रिमियर शो गर्दै आईरहेको छ भने आज सिलगढीको मतिगढामा अवस्थित लिभिङ वड सेन्टरमा प्रिमियर शो सम्पन्न गरिएको थियो।

उक्त प्रिमियर शोमा फिल्मका कलाकारहरू बिपना थापा, समीर छेत्री, पास्टर सुरेन खवास लगायत निर्माता दिपक सोलोमन राई आदिको उपस्थिति रहेको थियो। फिल्मको प्रिमियर हुन अघि सानो कार्यक्रम सम्पन्न भएको थियो जसलाई संगीतकार सामूएल सामुले सञ्चालन गरेका थिए। नेपाली इसाई चलचित्र यथार्थ विषयमा निर्माता दिपक सोलोमन राईले दर्शकहरूलाई जानकारी गराएका थिए। फिल्म हेरेपछि दर्शकहरूले आफ्नो आफ्नो प्रतिक्रियाहरू दिएका थिए। उक्त नेपाली इसाई चलचित्र यथार्थ विषयमा निर्माता दिपक सोलोमन राईले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।