नाम्चीः विक्रम संवत् २०८० को अवसरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजित राज्यस्तरीय वैशाखी पर्व समारोह समाप्त भएको छ। हिजो शुक्रबारदेखि नाम्ची बजारको किसान मार्केटमा शुरु भएको वैशाखी समारोहको समापन अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। नाम्ची सांस्कृतिक संघले अन्य विभिन्न संगठनहरूको सहयोगमा आयोजन गरेको वैशाखी समारोहको समापन अवसरमा विभिन्न आयोजक समितिले मुख्यमन्त्री तामाङसहित समाजका विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वलाई अभिनन्दन जनायो। वैशाखी पर्वको समापन अवसरमा बोल्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले वैशाखी पर्वको सफल आयोजनका लागि नाम्चीका नागरिकहरूलाई बधाई दिए। यस पर्वको माध्यमबाट युवा नेता पुस्तालाई सिक्किमको संस्कृति र परम्पराको पहिचान गराउने उद्देश्य राखिनुपर्ने र सिक्किमेली संस्कृतिको जगेडा गर्नुपर्ने बताए।
जानकारी गराइन्छ, एसकेएम सरकारले सिक्किमका विभिन्न जाति समुदायको पारम्परिक भेशभुषा संरक्षण गर्ने उद्देश्यले सरकारी विद्यालयमा एक दिन जातिय पहिचानको भेशभुषा लगाउने नियम बनाउन विद्यालयलाई सुझाउ दिएको थियो, जसलाई कतिपय विद्यालयले पालन गरिरहेका छन्। उनले राज्यको पारम्परिक नृत्यको संरक्षण गर्न विभिन्न डान्स एकाडेमीलाई सरकारले सहयोग दिएको, फुटबल खेलको विकासका लागि सिक्किम प्रीमियर लिग आयोजना शुरु गरेको बताए। मुख्यमन्त्री तामाङले नृत्यको क्षेत्रमा प्रतियोगिता बढाउन आगामी अक्टोबर महिनामा गोल्डन डान्स र गायन क्षेत्रका लागि गोल्डन भोइस सरकारले आयोजना गर्ने बताए। यो प्रतियोगिता एकल अनि समूह दुवै वर्गमा गरिने जसका लागि सरकारले आकर्षक पुरस्कार राशि व्यवस्थापन गर्ने जानकारी गराए। अर्कोतर्फ नाम्ची जिल्लामा पर्यटन क्षेत्रको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्ने बताउॅंदै पर्यटनका विशेष कार्यक्रम फोकस गर्न आग्रह गरे। सिक्किमको पर्यटन प्रचार प्रसारका लागि पनि काम गर्नुपर्ने भएकाले स्थानीय संसाधन र प्रतिभाशाली युवाको माध्यमबाट यो सम्भव हुने मुख्यमन्त्रीले बताए।
समारोहलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले भने, भारतको सर्वोच्च न्यायालय, प्रधानमन्त्री, गृहमन्त्री, कानून मन्त्री, पूर्व मुख्य न्यायाधीश, सोलिसिटर जेनेरलले सिक्किमले सुर्ताउनु पर्दैन,३७१ एफ सुरक्षित छ भनिसकेका छन्। तर, केही तथाकथित नेता ३७१ एफ उड्यो भनेर बाटोमा कराउँदै छन्। एसकेएम सरकारले सबै क्षेत्रमा काम गरेपछि राजनीति गर्ने केही विषय नरहेर कराएका हुन्, जनता सचेत बस्नुपर्छ। उनले अझ भने, रूल ४/४ पनि ३७१एफ भित्रको एउटा नियम रहेको कारण ३७१ एफ उड्यो भन्नेले रेगुलर नोकरीका लागि डाकिएको अन्तर्वार्तामा आरसी धाराकलाई राखेर देखाउन्। किन जनतालाई भ्रममा पार्ने काम गर्दैछन् भनी उनले प्रश्न गरे। पूर्व सरकारको कार्यकालमा कतिपय आरसी भएका व्यक्तिहरूलाई पनि शिक्षकको नियुक्ति दिएको आरोप लगाउँदै यसको दोषीलाई कारबाही गरिने बताए। पूर्व मुख्यमन्त्री र एसडीएफ पार्टीलाई इङ्गित गर्दै जनताको विश्वास गुमाएपछि एसडीएफले संस्थाको आडमा बसेर राजनीति गरिरहेको मुख्यमन्त्री तामाङले बताए। उनले भने, म पनि सिक्किमे नागरिक हूँ। मेरो पुर्खाको चिहान यहीं छ। म खोटाङको होइन। नेपालमा गएर एउटा र सिक्किममा आएर अर्को कुरा गर्दिन। दुई धारे कुरा गर्ने थोत्रे नेताले गर्दा नेपालीको बद्नाम भएको छ। मैले पनि सिक्किम र सिक्किमे जनताको सुरक्षा गर्नुपर्छ। ३७१एफ को मलाई पनि माया छ।
उनले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई उनकै रिस, आह्रिस, अहंकार र बोल्ने तरिकाले पतनको बाटोमा लगेको छ भन्दै जनतालाई उनीबाट सचेत बस्न आग्रह गरे। उनले भने, पवन चामलिङको नैतिक पतन हुॅंदैछ। जनता नझुकिनु होला। म यतिमात्र भन्छु हामीले २०१९ मा नै सॉंपको टाउको किच्याइ सकेका छौं, अहिले पुच्छर मात्रै हलिॅंदैछ। जनता नझुकिनु किनभने सापको पुच्छरमा विष हुॅंदैन। उनले २०२४ को विधानसभा चुनाउमा एसकेएम पार्टीले ३२ सीटमा नै जित हासिल गर्ने पनि दाबी गरे।