काठमाण्डौँः नेपालमा सुरक्षागार्डले गोली चलाउँदा पूर्वमन्त्री वर्षमान पुनकी आमा घाइते भएकी छिन्। शुक्रवार राति ९ बजे काठमांडूको प्रधानमन्त्री निवास नजिकै बालुवाटारस्थित घरमा भीआईपी सुरक्षामा खटिएका सुरक्षागार्डले गोली चलाएको खुलेको छ। खुट्टामा गोली लागेर ७४ वर्षीया तीर्थमाली पुन घाइते भएकी हुन्। गोली चलाउने कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षागार्ड प्रहरी हवल्दार प्रकाश पुन मगर हुन् जो पूर्वमन्त्री पुनका नातेदार पनि हुन्। नेपालमा नयाँ वर्षको पारिवारिक जमघटमा हवल्दार पुन पनि पुगेका थिए। विवाद भएपछि मादक पद्धार्थ सेवन गरेका प्रकाश पुनले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
गोली चलाएर फरार पुनलाई शनिवार विहान नियन्त्रणमा लिई प्रहरी हेडक्वार्टमा राखी अनुसन्धान बढाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। हिन्दुस्थान समाचारले घटनाको वास्तविकताबारे प्रश्न गर्दा प्रहरीले घटनाको अनुसन्धान भइरहेको र वास्तविकता चाँडै खुलाउने बतायो। घटना घटेको बेलामा सीपीएन एमकेका उपमहासचिव समेत रहेका पूर्वमन्त्री वर्षमान पुन थिएनन्। उनी उपचारका लागि चीनमा छन्। वर्षमान पुन पूर्वसभामुख ओनसरी घर्तीका पति हुन्। वर्षमान र ओनसरी दुवै उक्त घरमा नबस्ने र बाबुआमा मात्र बस्ने गरेको बुझिएको छ। स्वास्थ्यमा समस्या भोग्दै आएका वर्षमान उपचारका लागि विदेश गइरहन्छन्। उनी पछिल्लो समय चीनमा उपचार गर्दै आएका छन्।