१५ अप्रेलः साल २०१३-मा केवल १७ जना खेलाड़ीको साथ यात्रा शुरु गर्ने उत्तर बंगालको अग्रणी टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को दशौं स्थापना दिवस शुक्रवार भव्यताको साथ पालन गरियो। गत दश वर्षको यात्रामा उत्तर बंगाल मात्र नभएर कलकत्ता, सिक्किम र छिमेकी देश नेपालमा पनि सफलताको नयाँ इतिहास रच्ने केएफसी-मा अहिले सीनियर जूनियर मिलाएर लगभग ४५ जना खेलाड़ी रहेका छन्। सालबारी नजिक एउटा रिसोर्टमा भएको कार्यक्रमलाई मिट द आइकन नाम दिइएको थियो कारण कार्यक्रममा विभिन्न खेलका दिग्गजहरूका उपस्थिति रहेको थियो। क्लबका टेक्निकल डिरेक्टर तथा पूर्व भारतीय फूटबलर श्याम थापा, भारतीय फूटबल टीमका पूर्व कप्तान भाईचुङ भूटिया र ओलम्पियन हकी खेलाड़ी भरत छेत्री विभिन्न कारणहरूले कार्यक्रममा उपस्थित रहन नसके पनि राष्ट्रिय स्तरका पूर्व फूटबलर उर्गेन लामा (मिनी), केशव प्रधान, राजेन्द्र प्रधान र कप्तान एसके राईसहित अन्य दिग्गजहरूका उपस्थिति रहेको थियो। तक्निकी समितिका सदस्य कप्तान एसडी तामाङके सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानले स्वागत भाषण राखेपछि उपस्थित अतिथिहरूलाई खदार्पण गरियो अनि केक काटियो। यस अवसरमा केएफसी-को तर्फबाट पूर्व फूटबल उर्गेन लामा, पूर्व फूटबलर (गोलकीपर) केशव प्रधान, पूर्व फूटबलर राजेन्द्र प्रधान, अन्तर्राष्ट्रिय स्तरका पूर्व बक्सर कप्तान एसके राई अनि भौतिक शास्त्रमा पीएचडी गर्ने दिलाराम निवासी कमल भुजेललाई केएफसी-को तर्फबाट सम्बर्द्धना जनाइयो। यसको साथमा क्लबको तर्फबाट तीनधारे निवासी पुर्णिामा छेत्रीलाई पनि सम्मान जनाइयो, जसले विभिन्न कठिनाईहरूको सामना गर्दै पनि भूगोलमा एमए गरी अहिले बीएड गरिरहेकी छन्। कार्यक्रममा एल्विन लामाले पावर पोइण्ट प्रेजेण्टेशनको माध्यमले केएफसी-को इतिहास, उद्देश्य, लक्ष्य र उपलब्धिहरूबारे जानकारी दिए।
कार्यक्रममा उपस्थित अतिथिहरुमा चार्ल्स माहबर्ट, कर्णेल बिमल देवान, कप्तान एमबी लिम्बू, शिबु छेत्री, डा. मैनाक मुखर्जी, डा. श्रीधर आर, डा. गाजी, डा. अभिषेक कुमार सिंह , खोकन भट्टचार्य, प्यारा सिंह, टिकम शर्मा, दिनेश छेत्री, धिरज प्रधान, पूर्व आरटीओ राजेन सुन्दास, सीए अंकित छेत्री, डिक चामलिंग, शत्रुघन पोख्रेल अनि टेक्निकल कमिटी मेम्बर कप्तान एसडी तामाङ, अमर तामाङ तथा मदन राणा प्रमुख थिए।

क्लबका प्रमुख सल्लाहकार अञ्जु शेर्पाले धन्यवाद ज्ञापन गरे। कल्पना देवानको अगुवाइमा नरबुंग चियाबारीका नयुम अनि रोशनी ग्रुपका नानीहरूले खुबै सुन्दर संस्कृतिक नृत्य प्रस्तुत गरे।
कार्यक्रममा क्लबका अध्यक्ष तथा पूर्व एडीएम गोपाल लामा, सह-सचिव विजय लिम्बू, मुख्य प्रशिक्षक दिनकर छेत्री, एके राई सोतांग, सुरज नौबाग, शिव कुमार राई, सह प्रशिक्षक सञ्जय छेत्री, रोल्याण्ड सुब्बा, आशिष प्रधान अनि संस्थापक क्रमैले प्रीतम थापा, एल्विन लामा, रोहित कुमार गुप्त अनि खेलाड़ीहरूका विशेष रुपले उपस्थित थिए भनी केएफसीका कार्यकारी अध्यक्ष सुरेन प्रधानद्वारा जारी मीडिया विज्ञप्तिमा जनाइएको छ।