सुमिन: पूर्व सिक्किमको नाम्चेबुङ समष्टिअन्तर्गत अप्पर सुमिनस्थित नाग्युर थोकचुक छोकर्लिङ गुम्बामा सम्पन्न भइरहेको बूम पूजा (विश्व शान्ति पूजा) समारोहमा आज मुख्यमन्त्री पीएस गोलेले उपस्थिति जनाएर पूजा गरे। रिम्पोछे दावा जाङ्पोको विशेष उपस्थितिमा आयोजित पूजा समारोहमा मुख्यमन्त्रीले सिक्किम अनि सिक्किमेली जनसमुदायको शान्ति, समृद्धिको निम्ति पूजा अर्चना गरे। यस अवसरमा मन्त्री लोकनाथ नेपाल, क्षेत्र विधायक एम. प्रसाद शर्मा, पाकिम जिल्लाकी जिल्ला अध्यक्ष, सिक्किम सरकारका अधिकारीवर्ग, बौद्ध अनुयायीहरू, स्थानीयहरूको उपस्थिति रहेको थियो। यो समारोहमा भाग लिन अघि मुख्यमन्त्रीले मिडल सुमिन गुम्बाको पनि भ्रमण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले केही समय अघि जनतासगँको भेटघाट कार्यक्रम अवधि स्थानीय जनताले राखेका सबै माग पूरा गर्ने र समस्या समाधानको पहल भइरहेको जानकारी गराए। अप्पर सुमिनबाट चार किलोमिट सड़क मार्ग खने पाकिमसित यो गाउँ सोझै जोडिने भएकाले सरकारले त्यस अनुरुप काम गर्ने पनि उनले बताए। यस अवसरमा उपस्थित सडक एवं पूल विभागका मुख्य अभियन्ता र अन्य अन्य अधिकारीलाई १५ भित्र यो नयाँ सडकको टेण्डर गराउने निर्देश दिए।
सरकारका जनमुखी योजना र कृषि प्रोत्साहन योजनामाथि प्रकाश पार्दै मुख्मन्त्रीले स्थानीय मानिसहरूलाई यसको लाभ लिन आग्रह गरेका छन्। कतिपय स्थानमा कृषि प्रोत्साहन योजनाको सहि व्यवस्थापन नभएका जनगुनासो रहेको उल्लेख गर्दै पञ्चायतले यसमाथि उचित छानबिन गर्नुपर्ने मुख्यमन्त्रीले सचेत गराए। व्यवस्थित रूपमा काम गरिरहेका स्वयं सहायता समूहलाई सहयोग गर्ने उनले वचन दिएका छन्।
कार्यक्रममा मुख्यमन्त्री अनि क्षेत्र विधायकको पक्षबाट गुम्बा निर्माणको निम्ति जमीन प्रदान गर्ने नामग्याल शेर्पालाई प्रशस्ति पत्र प्रदान गरियो।










