गान्तोक: गान्तोक सदर पुलिसले हत्याको मामिलामा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपित व्यक्तिको नाम छितेन भोटिया रहेको बताइएको छ। पक्रा पर्ने ३७ वर्षीय आरोपित व्यक्ति मूलरूपमा दार्जीलिङ निवासी हुन् भने हाल डेभलपमेन्ट क्षेत्रमा बसोबासो गर्दै आइरहेका हुन्।
पुलिसले जानकारी गराए अनुसार, गत १० अप्रेलको दिन लोवर बुर्तुक निवासी सुबास राईलाई अचेत अवस्थामा एसटीएनएम अस्पतालमा उपचारको निम्ति लगिएको थियो। उनलाई आरोपित छितेन भोटियाले उपचारको निम्ति लिएर गएका थिए। तर अस्पतालमा चिकित्सकहरूले हेरेपछि उनलाई मृत घोषित गरिदिए।
यस घटनालाई लिएर गरिएको जाँचको क्रममा पुलिसले एक महिला शशि राईसँग केरकार गर्दा उनले सबै कुरा पुलिससमक्ष खुलासा गरेकी हुन् उक्त महिलाको बयानको आधारमा पुलिसले छितेन भोटियालाई पक्राउ गरेको हो। मृतक लोवर बुर्तुक निवासी थिए।महिलाले पुलिसलाई बताए अनुसार, मृतक राई र उनीबीच प्रेम सम्बन्ध थियो। सो दिन आरोपित भोटिया, मृतक र शशि राजधानीको एउटा होटलमा गएका थिए र खानपानपछि घर फर्किए। तर, फर्किने क्रममा मृतक राईले आरोपित भोटियाको निवास स्थल डेभलपमेन्ट एरियासम्म पछ्याउँदै आए।यस विषयलाई लिएर दुईबीच निकै भनावैरी भयो। अक्रोशित भोटियाले सुबास राईलाई सिढीबाट ठेलेर लडाइदिएपछि कुटपिट गरे। यस क्रममा राईको मृत्यु भयो। तर, आफु जोगिन आरोपितले उसलाई बाटोमा बेहोश अवस्थामा भेटेको भन्दै अस्पताल पुऱ्याएका थिए। पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेर आईपीसीको धारा ३०२ अन्तर्गत मामिला दर्ता गरेको छ।










