खरसाङः नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा शुरु भएको तीन दिवसीय सांगीतिक र सांस्कृतिक कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ गायक अनि संगीतकारहरूलाई सम्बर्द्धना जनाउने कार्यक्रम रहेको छ। आजदेखि शुरु भएको तीन दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन भोलि १५ अप्रेल साँझ ५ बजीदेखि खरसाङको संयुक्त कलाकार संघका कलाकारहरूले सांगीतिक प्रस्तुतिहरू दिने छन्। उक्त कार्यक्रम अवधि खरसाङ क्षेत्रका वरिष्ठ संगीतकार र गायकहरूलाई सम्बर्द्धना जनाइने कार्यक्रम रहेको नयाँ वर्ष समारोह समितिको संगीत क्षेत्रका संयोजक वरिष्ठ संगीतकार महेश्वर लामाले जानकारी गराएका छन्।
उनले बताए अनुसार, भोलि १५ अप्रेलका दिन हुने कार्यक्रममा खरसाङका वरिष्ठ लोक गायक तथा संगीतकार मानसिहं मोक्तान अनि खरसाङको सिपाहीधुरा निवासी वयोवृद्ध संगीत साधकलाई पनि सम्बर्द्धना जनाउने कार्यक्रम रहेको छ। त्यसरी नै अन्तरराष्ट्रिय ख्यातिप्राप्त प्रतिभाशली गायक एवं खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङका सुपुत्र अभिषेक गुरुङलाई सम्बर्द्धना जनाइने कार्यक्रम रहेको छ। यसै कार्यक्रममा मरणोप्रान्त सम्बर्द्धना खरसाङका प्रतिभाशाली गायक कल्याण माझीलाई जनाइने छ।









