सिक्किम सब्जेक्ट उड्यो भन्नेले जलाएर देखाउन्: मुख्यमन्त्री

Untitled-1-copy-65

मुख्यमन्त्रीले दिए चुनौती, भाइचुङ भोटियाको जमिन पवन चामलिङले किनेर देखाउन्

गान्तोकः १३२औं बीआर अम्बेडकर जयन्ती सिक्किमले पनि भव्यतका साथ पालन गरेको छ। सिक्किम सरकारको सामाजिक न्याय तथा कल्याण विभागले आयोजन गरेको समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले), विधानसभा अध्यक्ष अरुण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा, राज्य सरकारका मन्त्रीहरू, विधयकगण, मुख्य सचिव, डीजीपी लगायत सिक्किम सरकारका अधिकारी र सम्बन्धित अन्यको उपस्थिति रहेको थियो। सिक्किम विधानसभा परिसरमा डा. भीमराव अम्बेडकरको सालिगमा मुख्यमन्त्री लगायत अन्यले माल्यार्पण गरेपछि शुरु भएको कार्यक्रमलाई मुख्यमन्त्री पीएस तामाङले सिक्किमका मानिसहरूले अम्बेडकरले दिएको शिक्षालाई जीवनमा उतार्न आग्रह गरे। सिक्किमका मानिसहरूले देशको संविधानले दिएको अधिकार मात्र खोज्ने गरेका तर कर्तव्य निर्वाह गर्ने विषयमा भने सधैं पछि रहेका नागरिकको देशप्रतिको जिम्मेवारी निर्वहन गर्ने पक्षमा पनि अघि आउन आग्रह गरे। यस अवसरमा मुख्यमन्त्री पीएस तामाङले राज्यका सरकारी कर्मचारीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न पनि आग्रह गरे।

राज्यमा कार्यरत एक परिवार एक नोकरी (ओएफओजे) कर्मचारीको सन्दर्भमा बोल्दै उनीहरूको पक्षमा सरकारले नयाँ योजना ल्याउने तयारीमा रहेको जनकारी दिए। ओएफओजे अन्तर्गत सेवारत कर्मचारीमा धेरै क्षमता रहेको तर नोकरीको बाध्यताले उनीहरू अफ्नो योग्यता अनुरुप काम गर्नबाट वञ्जित रहेका विषयलाई ध्यानमा राखेर सरकारले नयाँ कामको अवसर दिने मुख्यमन्त्रीले बताए। सरकारको योजना अनुसार, यस्ता कर्मचारीलाई तीन वर्षको निम्ति नियमित सेवा बाहिर बसेर नयाँ कार्य शुरु गर्ने अवसर दिइनेछ। उनीहरूको नोकरी र वरिष्ठतालाई सुरक्षित राखेर ५० प्रतिशत वेतन सहित तीन वर्ष बाहिर काम गर्ने अवसर प्रदान गर्दा नोकरीबाट भन्दा असल प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले ओएफओजेका लागि यो नयाँ अवसर दिने सोच बनाएको र चाँडै नोटिफिकेशन जारी गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले धारा ३७१ एफ र सिक्किम सब्जेक्ट उड्यो भनि बयानहरूलाई चुनौती दिए। सिक्किमको सुरक्षा कवच र सिक्किम सब्जेक्ट पूर्ण सुरक्षित उनले दाबी गरे।

उनले भने, “राजनीतिक रोटी सेक्न चहाने कतिपय मानिसहरूले सिक्किम सब्जेक्ट र धारा ३७१ एफ समाप्त भयो भन्दैछन्। म संविधान निर्माताको सालिग अघि उभिएर चुनौती दिन्छु, सिक्किम सब्जेक्ट सकियो भन्नेले जलाएर देखाउन्। धारा ३७१ एफ समाप्त भएको दाबी गर्छन् भने भाइचुङ भोटियाको जमिन पवन चामलिङले किनेर देखाउन्। सिक्किम पब्लिक सर्भिस कमिसनमा १५ वटा भ्याकेन्सी खुलेको छ, सिक्किम सब्जेक्ट उड्यो भन्नेले ६ मई भित्रमा पब्लिक सर्भिस कमिसनका उक्त पदमा आरसी धारकको फारम दर्ता गराएर देखाउन्, म त्यसै दिन मुख्यमन्त्री पदबाट राजीनामा दिएर सिङ्लिङ फर्किन्छु।” राज्यका मानिसहरूलाई आश्वस्त गराउँदै मुख्यमन्त्री तामाङले धारा ३७१ एफ कार्यपालिका र न्यायापालिका कसैले पनि चलाउन नसक्ने बताए। सरकारले १० अप्रेलमा पारित गरेको प्रस्तावबारे बोल्दै मुख्यमन्त्रीले भने, ‘हामीले धारा ३७१ एफ उड्यो भनेर होइन, तर जनताको मनमा लागेको शंका मेटाउन विधानसभामा प्रस्ताव पारित गरेका हौं। हामी पनि सिक्किम भित्रकै हौं, गद्दार होइनौ। मेरो पनि सिक्किममै सन्तान छ, उनीहरूलाई बचाउनुपर्छ।’ आज आयोतित अम्बेडकर जयन्ती समारोह अवधि अखिल सिक्किम अनुसूचित जाति कल्याण संघले मुख्यमन्त्री पीएस गोलेलाई अभिनन्दन जनायो। संघले १०औं तथा १२औं श्रेणीको परिक्षामा उच्च अङ्क प्राप्त गर्ने अनुसूचित जातिका विद्यार्थी, जातिमा रहेका खेलाडी, स्वस्थ्यकर्मी र शिक्षा क्षेत्रका प्रतिभाशाली व्यक्तिलाई पनि अभिनन्दन गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement