पञ्चायत निर्वाचन अघि खुखलुङ मेला बस्तीका बासिन्दाद्वारा पुल बनाउने माग

cc631e1d-2968-4640-a608-cb640adbb6cd

जलपाइगढी: चुनाव आउछ र जान्छ, चुनाव अघि राजनीतिक व्यक्तित्वहरू पनि क्षेत्रहरूमा आएर सबै सुविधा दिने आश्वासन दिन्छन्। तर,खुखलुङ मेला बस्तीका राभा जनजातीवर्गले कुनै सुविधा पाएका छैनन्। यस क्षेत्रका प्रमुख मागहरूमा नोनई नदीमा पुल निर्माण,स्वास्थ्य केन्द्र र माध्यमिक विद्यालय जस्ता आधारभूत मागहरू समावेश छन्। जो न्यूनतम आवश्यकता हो र उनीहरूको अधिकार पनि। पुल नहुँदा जङ्गल नजिकैको बस्तीमा बसोबासो गर्ने बासिन्दालाई विद्यालय र स्वास्थ्य केन्द्र पुग्न खोला तर्नुपर्ने बाध्यता छ। गर्मीमा पानी कम हुन्छ, तर मनसुनमा लगातार पानी पर्दा मानिसले ज्यान जोखिममा राखेर खोला तरेर विद्यालय वा स्वास्थ्य संस्था जान बाध्य हुन्छन्। जलपाइगढी जिल्लाको धुपगुडी ब्लकको झार अल्ता २ ग्राम पञ्चायतको उत्तरी खुटीमारी क्षेत्रमा नोनई नदीको एक किनारमा अधिकारीपाडा र नोनई नदीको अर्को किनारमा खुखलुङ मेला बस्ती छ। खुट्टीमारी गोसाइहाट वन क्षेत्र नजिक रहेको यस बस्तीमा राभा जातिको बसोबासो छ। सरकारी पक्षबाट लाखौं दाबी गरिएता पनि यो बस्तीमा विकासको ज्योति पुगेको छैन। यहाँ न त जुनियर हाई स्कुल छ, न त कुनै स्वास्थ्य केन्द्र नै छ।अधिकारीपाडामा विद्यालय र उपस्वास्थ्य केन्द्र दुवै नदीको किनारमा अवस्थित छन्। खोला पार गरेर मात्र यहाँका विद्यार्थी र बिरामीदेखि गर्भवती महिलासमेत सरकारी पाडा जान बाध्य छन्। यसबाहेक खुखलुङ बस्तीका गर्भवती महिलाहरू पनि खोप लगाउन अधिकारीपाडा जाने गर्छन्। अधिकारीपाडा पुग्न खोला तरेर कम समय लाग्ने हुँदा राभा बस्तीका बासिन्दाले वैकल्पिक मार्गका रूपमा अधिकारीपाडा पुग्न खोला पार गर्नुपर्ने बाध्यता छ। खोला पार गरेपछि अधिकारीपाडाको दुरी १ देखि १.५ किलोमिटर मात्र हुन्छ तर घुमाउरो बाटोबाट जाँदा यो दूरी बढेर ६–७ किलोमिटर पुग्छ। यति मात्र होइन, बाटोमा जङ्गल पनि पर्छ। जङ्गलको बाटोमा जहिले पनि वन्यजन्तुको डर रहन्छ। हात्ती, अर्ना र अन्य जंगली जनावरहरूको आक्रमणमा मानिसहरूको मृत्यु भइरहन्छ। खोलामाथि पुल नहुँदा सबै विद्यार्थी र गर्भवती महिलाले ज्यान जोखिममा पारेर जङ्गलबाट यात्रा गर्नुपर्ने हुन्छ। यति धेरै जोखिम मोलेर गर्भवती महिलाहरू खोप लिन उपस्वास्थ्य केन्द्र जान हिचकिचाउँछन् वा पटक–पटक जाँदैनन्। फलस्वरूप यस क्षेत्रका धेरै बालबालिका अपाङ्ग भएर जन्मिने गरेको राभा विकास बोर्डका सचिव रवि राभाले बताए। यी आधारभूत सुविधा राभा बस्तीका बासिन्दाको अधिकार हो, यो उनीहरुले पाउनु पर्ने बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement