१६ अप्रेल आइतबार गोर्खा सुन्दरी प्रतियोगिता आयोजना हुनेछ
खरसाङ: नेपाली नयाँ वर्ष विसं २०८०, आज पहिलो वैशाखदेखि वैशाख ३ गते (१४ अप्रेलदेखि १६ अप्रेल)सम्मका लागि खरसाङ शहर संस्कृतिमय बनेको छl सन् १९९४ देखि समग्र दार्जीलिङ पहाडी भेकमा खरसाङबाट सांस्कृतिक जन जागरणको अभियान चलाउँदै आएको गोर्खा सांस्कृतिक संस्थानको तीन दिनको सांस्कृतिक महाकुम्भ शुरु भएको छl यस संस्कृतिक महाकुम्भको मुख्य कार्यक्रम स्थल रहेको छ खरसाङको मन्टेभियट मैदानl

आज नेपाली नयाँ वर्षको पहिलो दिन गोर्खा संस्कृतिक संस्थानको आयोजनामा खरसाङमा विशाल सांस्कृतिक शोभायात्रा निकालिएको थियोl गोर्खाल्याण्ड एड्मिनिस्ट्रेसन (जीटीए)का मुख्य कार्यपाल अनित थापा मुख्य अतिथि रहेको यस सांस्कृतिक शोभायात्रामा नेपाली जातिका लोक नृत्य, गीतहरू प्रस्तुत गरिएको थियो (जसको तस्वीर द् रिपब्लिक इण्डियनको फोटो फिचर सेक्सनमा उपलब्ध छ)l यो शोभायात्रा शहर परिक्रमा गर्दै कार्यक्रमको मुख्य स्थल मन्टेभियट मैदानमा पुग्योl

यस अवसरमा जीटीएका उपाध्यक्ष राजेश चौहान विशिष्ट अतिथिका रुपमा उपस्थित थिएl नेपाली नयाँ वर्षको अवसरमा गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष एवं यस भेककी सांस्कृतिक जन जागरणकी अभियन्ता श्रीमती आशा मुखिया लामाले सर्वसाधारणलाई नयाँ वर्षको मङ्गलमय शुभकामना जनाएकी छिन्l यस सांस्कृतिक महाकुम्भमा नेपाली पारम्परिक खानपानका साथमा विभिन्न लोक नृत्य साथै लोकगीतहरूको कार्यक्रम आयोजना हुने उनले बताइन्l १६ अप्रेल आइतबार गोर्खा सुन्दरी प्रतियोगिता आयोजना हुनेछl

कार्यक्रमको मुख्य स्थलमा शोभायात्रा पुगेपछि पण्डित तुलसी अधिकारीले विधिवत रुपमा विश्व शान्ति कामना गर्दै पूजा गरेl उनले गुरु गोरखनाथको पूजा गरेl पूजा सम्पन्न गरेपछि विश्व शान्तिको कामना गर्दै शान्तिका प्रतीक दुईवटा परेवा जीटीएका मुख्य कार्यपाल अनित थापाले उडाएl गोर्खा सांस्कृतिक संस्थानले सन् १९९५ देखि नै यस्तो परम्परा बसालेको छ कार्यक्रमको मुख्य स्थलमा नेपाली पारम्परिक घर बनाइएको छ भने साथमा नेपाली खानपानका पसलहरू पनि राखिएका छन्l यसका साथै जातीय पोशाकहरु र सामग्रीहरूका पसलहरू पनि राखिएका छन्l तीनसम्म नेपाली लोक संस्कृतिका विभिन्न सांगीतिक कार्यक्रमहरू सम्पन्न हुनेछl









