कुचबिहार: बालाभुत ग्राम पञ्चायतको नयरचर घोनापाडा क्षेत्रमा भीषण आगलागी हुँदा एक घर जलेर खरानी भएको छ। घटनाको जानकारी पाएलगत्तै तुफानगञ्ज दमकलको गाडी घटनास्थलमा पुगेको थियो। घटना बिहीबार राति करिब आठ बजे भएको बताइएको छ। दमकल र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो। तर त्यतिन्जेल घर पुरै जलिसकेको थियो।
बालाभुत ग्राम पञ्चायत अन्तर्गत उत्तर बालाभुत नयरचर घोनापारा क्षेत्रका कृष्ण घोषको घरमा आगलागी भएको जानकारी प्राप्त भएको छ। कृष्ण घोषकी श्रीमतीले घरमा बच्चाको लागि दुध बनाउँदै गर्दा अचानक आगलागी भएको परिवारको भनाइ छ। भान्साकोठामा राखिएको ग्यास सिलेन्डर समेत विस्फोट भएको छ। विस्फोटको आवाजले सम्पूर्ण क्षेत्रमा आतङ्क मच्चिएको थियो। आगलागीबाट करिब २ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको भएपनि मानवीय क्षति भने नभएको दमकल विभागले जनाएको छ।









