गान्तोक। सिक्किमेली कवि मणिका शर्माको कविता सङ्ग्रह “उद्वेलन”-को शनिवार एक कार्यक्रमबीच लोकार्पण भयो। गान्तोकको टाशी नामग्याल सिनियर सेकेण्डरी स्कूलको प्रेक्षालयमा आयोजित अविराम कविता वाचन एवम् पुस्तक लोकार्पण कार्यक्रममा सिक्किम र कालेबुङका विभिन्न स्थानबाट आएका २३ जना कविले कविता वाचन गरेका थिए।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी भट्टराई, नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र् पौड्याल, साहित्यकार केएन शर्मा, शोभाकान्ति थेगिम स्मृति ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चा, सिक्किम विश्वविद्यालयकी प्रोफेसर पुष्प शर्मा, प्रोफेसर कविता लामालगायत अन्य वरिष्ठ साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो।
कवि मणिका शर्माकृत कविता सङ्ग्रहमाथि कवि मनोज बोगटीले समीक्षात्मक टिप्पणी राखेका थिए। प्रोफेसर कविता लामाले कार्यक्रममा वाचन गरिएका कविताहरूमाथि टिप्पणी राखिन्। कवि मणिका शर्माले आफ्नो पहिलो कविता सङ्ग्रहमा पुराना कविताहरू समेटिएको उल्लेख गर्दै नयाँ कविताहरूसँगै अर्को कृतिको पनि तयारी गरिरहेको बताइन्। कार्यक्रममा स्कूलका विद्यार्थीहरूद्वारा सांगीतिक प्रस्तुति दिए। सम्पूर्ण कार्यक्रमलाई कवि उषा शर्माले सञ्चालन गरेकी थिइन्।