गान्तोकः भारत सरकारका सबै गरीब अनि जनमुखी कार्यक्रम र योजनाको लाभ सिक्किमका प्रत्येक गरीब जनताले पाइरहेको दावी गरिएको छ। यस्तो दावी केन्द्रमा सत्तासीन भारतीय जनता पार्टीकी राष्ट्रीय सचिव डा. आशा लाकराले गरेकी हुन् जसलाई त्यसै पार्टीका सिक्किम प्रदेश अध्यक्ष डीबी चौहानले समर्थन गरेका छन्।
केन्द्रमा भाजपा सरकारको आठ वर्ष पूरा भएको अवसरमा सरकारको कामहरू बारे बताउन तथा केन्द्रीय योजनाहरूको कार्यान्वयनको जायजा लिन पछिल्ला केही दिनदेखि सिक्किम भ्रमणमा रहेकी डा. लाकराले आज राजधानीमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा सरकार र विशेष गरी प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम राज्यलाई प्राथमकिता दिएको जसको कारण राज्यमा विभिन्न केन्द्रीय योजनाहरू सफलतापूर्वक अनि प्रभावकारी ढङ्गमा लागु भइरहेको ठोकुवा गरिन्। सिक्किममा पार्टीका कार्यकर्ताहरूबाट सुनेको मात्र होइन तर नाम्ची र राभङ्गलाका केही गाउँहरूमा गएऱ आफूले नै लाभार्थीहरूबाट यस बारे प्रतिक्रिया लिएको उनको भनाइ रहेको छ।
केन्द्रीय नेताले भने जस्तै के साँच्चै सिक्किमवासीले सबै केन्द्रीय योजनाहरूको लाभ पाइरहेका छन् भन्ने प्रश्नको जवाफमा प्रदेश अध्यक्ष डीबी चौहानले सिक्किमवासीले प्रायः सबै योजनाहरूको लाभ पाइरहेको र यदि कोही ती योजनाहरूको लाभ पाउनबाट वञ्चित छन् तथा कुनै योजना लागु भएको छैन भने प्रदेश भाजपाले राज्य सरकारलाई त्यसको निम्ति वाध्य गराँदै आएको उनेल उनले थप बताए।
झारखण्ड राज्यको राँची नगर निगमकी मेयर पनि रहेकी डा. आशा लाकराले सिक्किम भ्रमणको क्रममा ठाउँ-ठाउँमा पार्टी कार्यकर्ताहरूसित बैठक गर्दै आइरहेकी छन् भने आज गान्तोकमा पनि एउटा बैठक बसेको थियो। डा. लाकराले सिक्किममा केन्द्रीय योजनाहरूको कार्यान्वयनको सराहना गरे पनि नाम्चीमा स्मार्ट सिटी परियोजनालाई लिएर भने असन्तुष्टि जाहेर गरेकी छन्। उनको भनाइअनुसार नाम्ची स्मार्ट सिटीको कामलाई गती दिइनुपर्नेछ।