१३ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा वर्तमान च्याम्पियन गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गऱ्यो। बिहीवार मोहालीमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो। म्याथ्यू शर्टले सर्वाधिक ३६ रन (२४ बल, ६ वटा चौका र एउटा छक्का) बनाए। यसबाहेक जितेश शर्माले २५ रनको योगदान दिए। सेम कुरेन र शाहरुख खानले २२-२२ रन बनाए। कप्तान शिखर धवन (८)-लाई शुरुमै गुमाएपछि पञ्जाबको तर्फबाट कसैले पनि लामो ईनिंग्स खेल्न सकेनन्। गुजरातका बलरहरूमा मोहित शर्माले सर्वाधिक २ विकेट लिए।

जवाफमा गुजरात टाइटन्सले १ बल बाँकी रहँदै ४ विकेट गुमाएर १५४ रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर शुभमन गिलले ४९ बलमा ७ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ६७ रन बनाए। यसबाहेक रिद्धिमान साहाले ३० रन बनाए। राहुल तेवतिया (अविजित ५)-ले अन्तिम ओभरको पाँचौं बलमा चौका लगाएर गुजरात टाइटन्सलाई जीत दिलाए।









