खरसाङ: जीटीए चुनावमा खरसाङको ३० नम्बर अम्बटे पंखाबारी लङ्भ्यू समष्टिबाट स्वतन्त्र उम्मेद्वारको रूपमा खड़ा भएका प्रार्थी सुवास छेत्रीले शनिवार यहाँको सातघुम्ती बस्ती अनि दुर्पीन गाउँको भ्रमण गरे। यसअघि उनी गाड़ीधुरा अनि दुधे क्षेत्रमा पुगेर स्थानीय मानिसहरूसँग भेट गरे। त्यसपछि उनी सातघुम्तीका प्रत्येक मानिसहरूको घर दैलोमा गएर उनी यसपल्ट चुनावमा खड़ा हुनुको उद्धेश्य बताउँदै भोट अपिल गरे। त्यसपछि प्रार्थी छेत्री यहाँको दुर्पीन गाउँमा आयोजित एक भेलालाई स्मबोधन गर्न पुगे। उनले स्थानीय गाउँवासीलाई सम्बोधन गर्दै क्षेत्रको विकास, बेरोजगारी समस्या तथा वर्षौंदेखि शोषित,पीड़ित र हेलित जनताको निम्ति काम गर्न उनी यसरी चुनावी मैदानमा खड़ा भएको जनाए। छेत्रीले विशेषगरी सातघुम्तीदेखि दुर्पीन हुँदै लंगभ्यूसम्म पुग्ने सड़क निर्माण कार्य आजसम्म पूरा नगरिएको खेद प्रकट गर्दै आफूले जितेर गएको खण्डमा यस सड़क निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएर कार्य गरिने जनाए। छेत्रीले यसपालीको उनको जीत भएको खण्डमा जनताको जीत हुने, चियाबारीका जनताको जीत हुने बताउँदै आउँदो २६ जूनको दिन टेबल ल्याम्पलाई बालेर सँधैको निम्ति उज्यालो तर्फ जाने आग्रह गरे। उनी आफू कुनै राजनीति दल परिवर्तन गर्न अनि झण्डा थमाउन नआएको तथा चुनावमा उनको कोही पनि प्रतिष्पर्धी नरहेको जनाउँदै केवल अब कमान बस्तीका हामी जनताले पनि नेतृत्व छान्ने प्रथालाई बद्ली गर्नुपर्छ औ हामी कमान बस्तीका मानिसहरू पनि कुनै पनि क्षेत्रमा सक्षम छौँ भनी देखाउन औ डटेर काम गर्नको निम्ति यसरी चुनावमा खड़ा भएको जनाए। यस अवधि ग्रामवासीले पूर्णले उनीहरूको समर्थन र सहयोग रहेको अवगत गराउँदै चुनावमा भारी मतले विजयी गराएर पठाउने प्रतिबद्धता व्यक्त गरे। उक्त भेलालाई राजेन्द्र सुब्बाले पनि सम्बोधन गरेका थिए। सुब्बाले सुवास छेत्री जस्तो एक सफल पत्रकार, स्वच्छ छवि भएको सदैव सेवामूलक कार्यहरू गर्ने असल व्यक्ति यसपल्ट यस समष्टिले पाएको सबैले गर्व अनुभव गर्नुपर्ने बताउँदै सबैले मिलेर उनलाई विजयी बनाएर पठाएको खण्डमा उनले अवश्यनै समष्टिवासीको हितको निम्ति कार्य गर्ने विश्वास व्यक्त गरे। सुब्बाले सुवास छेत्रीको जीत निश्चित रहेको ठोकुवा गर्दै दुर्पीन अनि सातघुम्तीवासीको माया र सहयोग सदैव उनलाई रहनेछ भनी वचन दिए।