सोनादा: रंगबुल धोत्रे-रंगमुक मुण्डा समष्टिबाट हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले विभिन्न क्षेत्रहरूमा पैदल भ्रमण गरी जनतालाई भेटेर समस्याहरू बुझ्दै चुनाव प्रचारको कार्य गरिरहेका छन्। विगत ७ जूनदेखि नै यस समष्टीको विभिन्न स्थानहरूमा पुगेर चुनाव प्रचार गरिरहेका छन्। यसावधि प्रार्थी एनबी खवासले आज रंगबुल क्षेत्रमा पैदल नै पुगेर क्षेत्रका जनतालाई घर घर पुगेर भेट्ने कार्य गरेका छन्। आफ्नो चुनाव प्रचार अवधि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कंग्रेसको प्रार्थी एनबी खवासले आफुले रंगबुल धोत्रे रंगमुक मुण्डा समष्टिको विभिन्न क्षेत्रहरूमा पैदल यात्रा गरेर स्थानीय मानिसहरू र स्थानीय संघ संस्थाहरूका प्रतिनिधिहरूलाई भेट गर्दा यस क्षेत्रमा सामुहिक विकास होइन तर केवल व्यक्तिगत विकास मात्र भएको पाएको बताएका छन्। उनले यहाँको ९० प्रतिशत संघ संस्थाहरूका प्रतिनिधिहरू हामीसित काम गर्न तयार रहेको बताउँदै यहाँको मतदाताहरू नयाँ जोश र नयाँ उमङका साथमा यसपाली योग्य प्रार्थीलाई जिताउने मन्तव्य दिएको पनि बताएका छन्। एनबी खवासले आफुले जितेको खण्डमा यस क्षेत्रमा व्यक्तिगत विकास होइन तर सामूहिक विकास गरेर लाने प्रतिबध्दता जाहेर गरेका छन्। खवासले यस क्षेत्रलाई योजनाबध्द तरिकाले विकास गर्ने र यसको लागि रोड न्याप तयार परेको बताए। उनले यस क्षेत्रको स्वस्थ्य, शिक्षा, रोजगार विषयमा कार्य गर्ने अनि यस क्षेत्रलाई आफुले आफ्नो कर्मभूमिको रूपमा लिएको पनि बताएका छन्।