नेपिड: म्यान्मारको सेनाले देशको दोस्रो ठूलो शहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा गरेको हवाई हमलामा महिला र बालबालिकासहित १३३ जनाको मृत्यु भएको छ। आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घाइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानव अधिकार मन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएको छ।
दुई वर्षअघि सैन्य शाक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवम् भीषण आक्रमण गरेको हो। अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भए पनि हमला भने गरिउको छैन, तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन। संयुक्त राष्ट्र सङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेका छन्।
सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो। आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ। सन् १९४८ मा इंग्ल्याण्डबाट स्वतन्त्र भएको तत्कालीन बर्माको सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ। निर्मम आक्रमणका लागि परिचित म्यान्मारली सैनिकको छवि इतिहासदेखि नै धुमिल छ। यसैबीच, दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)ले कानबालुमा भएको हवाई हमलाको निन्दा गरेको छ। आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियलाले आज एक विज्ञप्ति निकालेर उक्त आक्रमणको निन्दा गरेको हो। आसियानले नागरिकहरूमाथि बल प्रयोग गर्नेलगायत सबै प्रकार हिंसा तत्काल हुनुपर्नेमा जोड दिएको छ।










