पाकिम: आगामी पञ्चायत उप-चुनाउलाई ध्यानमा राख्दै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चाको अध्यक्षतामा आज एक तयारी बैठक सम्पन्न भयो। जिल्लाको रुर्बन सामुदायिक भवनमा आयोजित तयारी बैठकमा पाकिम जिल्लाअन्तर्गत लिङ्के ग्राम पञ्चायत वार्डमा हुने उप-चुनाउलाई ध्यानमा राखेर मतदान अधिकारी एवं जिल्लापालद्वारा यो बैठक डाकिएको थियो।
उप-चुनाउलाई सफलतापूर्वक सञ्चालन गराउन सम्बन्धित विभागको भूमिका अनि जिम्मेवारीबारे बैठकमा गहन छलफल गरियो। बैठकमा निर्वाचनको समय र परिणाम, सड़कको अवस्था, मतदान केन्द्र र स्ट्रङ रुममा उपयुक्त सुविधाको आवश्यकता लगायतका विषयमा छलफल भएको थियो।
यस बैठकमा पाकिमका पुलिस अधीक्षक कर्मा ग्याम्छो, अतिरिक्त जिल्लापाल रविन सेवा, महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ, चुनाउ विभागका उप-सचिव श्रीमती मेरिना राई लगायत अन्यको उपस्थिति रहेको थियो।
जानकारी गराइन्छ, राज्यभरि नै ग्राम अनि जिल्ला पञ्चायतको रिक्त आसनहरूमा आगामी २० अप्रेलको दिन मतदान हुनेछ भने २१ अप्रेलको दिन मतगणना हुने भएको छ।