२ सय ३२ को सट्टा अब २५० रुपियाँ पाउने
सिलगढी: चिया बगानका मजदुरहरूको दैनिक ज्यालामा १८ रुपियाँ अन्तरिम वृद्धि गरी २३२ रुपियाँबाट २५० रुपियाँ गरिएको छ। अब मजदुरले दैनिक ज्याला २५० रुपियाँ पाउनेछन् । बुधबार सिलगढीस्थित स्टेट गेस्ट हाउसमा भएको त्रिपक्षीय बैठकमा यो निर्णय गरिएको हो ।राज्यको श्रम विभाग मन्त्री मलय घटकले ट्रेड युनियन र चिया बगान मालिकहरूसँगको बैठकमा भाग लिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीले चिया बगानका मजदुरको पारिश्रमिक बढाउन प्रदेश सरकारले न्यूनतम पारिश्रमिक समिति गठन गरेको बताए । उनीहरूले करिब १७ वटा बैठक गरे तर न्यूनतम पारिश्रमिकमा आपसी सहमतिमा पुग्न सकिएन ।यसैले श्रमिकको हितका लागि अन्तरिम तलब रकम बढाएको मन्त्री मलय घटकले बताए । उनले भने – हामी सधैं कर्मचारीहरूको साथमा छौं। पुरै बंगालमा करिब ३०० चियाबगान छन् । यी चियाबगानमा करिब ३ लाख ५ हजार मजदुरहरू काम गरिरहेका छन् । आजको बैठकमा चिया मजदुरको बक्यौता लगायत धेरै विषयमा छलफल भएको थियो । बैठकपछि पत्रकारलाई मलय घटकले आज कर्मचारीको तलब २ सय ३२ बाट २ सय ५० रुपियाँ पुर्याएको बताए ।यससँगै उनले चिया मजदुर युनियनका मागमाथि पुनः छलफल गर्ने बताए । यता, चिया मजदुर युनियनले श्रममन्त्रीको यो निर्णयमा आफूहरू सहमत नभएको बताएका छन् ।