“म कुनै राजनैतिक लिडर होइन, म दुर्भाग्यवश बनिएको लिडर हुँ”: अनित थापा

IMG-20230412-WA0270.jpg

दार्जिलिङ: साउथ फिल्ड कलेज, दार्जीलिङ परिसरमा छात्राहरूको निम्ति नयाँ छात्रावास भवनको निर्माण कार्यको आज विधिवत शिलान्यास जीटीए चिफ् अनित थापाको बाहुलीबाट भयो। यस छात्रावासमा ५० जना विद्यार्थी रहनु सक्नेछन्। गत २३ नोभेम्बर २०२२ को दिन अनित थापाले कलेजको भ्रमण गरेका थिए। त्यही भ्रमण समय उनले विद्यार्थीहरुको निम्ति भवन निर्माण गरिदिने वचन पनि दिएका थिए। आज त्यही वचनलाई पूरा गर्दै उनले १ करोड ६५ लाखमा बनिने छात्रावासको विधिवत शिलान्यास गरेका छन्।
शिलान्यास कार्यक्रम पश्चात कलेजको अडिटोरियममा एउटा कार्यक्रम आयोजित गरिएको थियो। दिप प्रज्ज्वलन गरी कार्यक्रमको सुरुवात भयो। प्रधान आचार्य डा. अनुराधा राईले अतिथिहरुलाई खादा अर्पण गरी स्वागत जनाए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अनित थापाले डा राईको बयानलाई टिप्दै भने, “अनित थापाले छप्पर फाँडेर पैसा दिएको होइन, यो भवन बनाउने पैसा सरकारले दिएको हो। यो पैसा पब्लिकको पैसा हो। म त एउटा माध्यम मात्र हुँ। तर काम राम्रो हुनुपर्छ।”
डा अनुराधा राईले अनित थापा अनि जीटीए प्रशासनलाई धन्यवाद दिँदै आफ्नो सम्भाषणमा भनेका थिए कि अनित थापाले कलेजलाई छप्पर फाँडेर उपहार दिनु भयो।
थापाले पहाडको राजनीतिमाथि प्रकाश पार्दै भने, “म ध्वंसात्मक राजनीतिलाई, रचनात्मक राजनीतिले ढाक्न चाहन्छु। पाँच वर्ष अघि यही अनित थापालाई गद्दार भन्थ्यो अनि पाँच वर्षपछि यही अनित थापालाई जनताले भोट दिएर जितायाे। यो हो मानिसको धारणामा परिवर्तन। हिजो गोर्खाल्याण्डको नाममा राजनीति हुन्थ्यो। तर न त गोर्खाल्याण्ड आयो, न पानी आयो, न बाटो बनियो, न शिक्षा नै फस्टाएर गयो। त्यसैले म भन्छु पहाडमा व्यावहारिक राजनीति हुनुपर्छ। मान्छेले अनित थापालाई नै भोट दिनुपर्छ भन्ने छैन। तर जुन नेताले काम गर्छ त्यही नेतालाई जनताले चुनेर कुर्सीमा बसाओस्। यही व्यवहारिक राजनीति म स्थापना गर्न चाहन्छु। म कुनै राजनैतिक लिडर होइन। म त एक दुर्भाग्यबश बनिएको लिडर हुँ। आज पनि म गाउँ घरमा नै डुलिरहेको छु। मान्छेको विचार अनि धारणा परिवर्तन गर्ने उद्देश्य लिएर।”
पहाड एक समय शिक्षाको हब नै थियो। तर हिजोको नेतृत्वको दूरगामी सोच नभएको कारण यहाँको शिक्षा संस्थाहरूमा लगानी गर्नेहरू मधेस पसेका छन् भन्दै उनले थप भने, ” कसैलाई गाली गरेर पहाड राम्रो हुँदैन।पहाडमा स्वच्छ वातावरण हुनुपर्छ। ८६ देखिको आन्दोलनले पहाडलाई कुनै उपलब्धि दिएको छैन। हामीले गुमायौं मात्र। हाम्राे टिम पहाडमा स्वच्छ वातावरण सृजना गर्ने कोसिसमा छौं। नेताकोपछि लागेर नोकरी पाउँछ , झण्डापछि दगुर्दा नोकरी पाइन्छ भन्ने गलत धारणालाई माँस्न चाहन्छु। त्यसैले हामी सही सिस्टम सबै विभागमा स्थापना गर्दैछौं।”

उनले बारम्बार उठिरहने चिन्हारीको मुद्दामाथि भने, “हाम्रो चिन्हारी शिक्षाले पनि दिन्छ। यदि तपाईंहरु माझ कोही पनि पढेर आईएएस, डाक्टर, वैज्ञानिक बन्नु सके, त्यही हाम्रो पहिचान बन्छ। शिक्षाको माध्यमले हामी हाम्रो पहिचान स्थापित गर्नु सक्नेछौं।”
शिलान्यास कार्यक्रममा अमर सिंह राई, सञ्चवीर सुब्बा, कलेजका प्रिन्सिपल, प्राध्यापक-प्राध्यापिकागण, जीटीएका सभासदहरू, प्रशासनिक अधिकारीहरु उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement