सिलगढी: एक विद्यालयका शिक्षकमाथि विद्यालयका छात्राहरूसँग अभद्र व्यवहार गरेको आरोप लागेको छ। यो गुनासो लिएर मंगलबार राजगञ्जको मन्दादारी ग्राम पञ्चायतको विद्यालय अगाडि अभिभावक र विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। तर,आरोपी शिक्षक त्यो दिन विद्यालय नआएको बताइएको छ। प्रदर्शनकारीहरूले अन्य शिक्षकहरूलाई विद्यालयको कोठामा थुनेर प्रदर्शन गरेका थिए। अभिभावकहरूले दोषी शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन्। आरोपी खुर्शिद आलम नामका शिक्षक सन् २००६ को फरवरीमा उक्त बिएफपी विद्यालयमा संलग्न भएका थिए। उनी सबैको सामु प्रिय शिक्षकको रूपमा चिनिन्थे। उनको घर विद्यालय नजिकै छ। शिक्षकले लामो समयदेखि छात्रालाई दुर्व्यवहार गरेको अभिभावकको आरोप छ। केही छात्राले अभिभावकलाई यस्तो कुरा बताएपछि त्यसैको आधारमा अभिभावकहरूले विद्यालयमा विरोध प्रदर्शन गर्नुका साथै विद्यालयमा उपस्थित अन्य शिक्षकलाई विद्यालयको एउटा कोठामा थुनेर दोषी शिक्षकलाई कारबाही गर्न माग गरेका थिए। सूचना पाएलगत्तै मिलनपल्ली चौकीका पुलिस र सर्व शिक्षा मिशनका जलपाइगढी जिल्ला अतिरिक्त परियोजना अधिकारी राजीव चक्रवर्ती घटनास्थलमा पुगेका थिए।
उक्त विद्यालयका एक शिक्षकले अभिभावकहरूले लगाएको आरोपबारे पहिले जानकारी गराएको बताए। पछि कक्षा ४ र ५ का केही छात्राहरूलाई सोध्दा, उनीहरूले पनि यो कुरा स्वीकार गरे। उनले स्पष्ट रूपमा भने कि बच्चाहरू पक्कै पनि झुट बोल्दैनन्। यो गम्भीर आरोप हो। यदि घटना सत्य हो भने प्रशासनले गर्ने कारबाहीमा हामी सहमत छौं। अर्कोतर्फ, सर्व शिक्षा मिशनका अधिकारी राजीव चक्रवर्तीले अभिभावकलाई आरोपित शिक्षकविरुद्ध पुलिसमा लिखित उजुरी गर्न भनिएको बताए। यसका साथै प्राथमिक विद्यालयका जिल्ला परिषद् निरीक्षक र सर्व शिक्षा मिसनका आयोजना अधिकृतलाई पनि यस विषयमा जानकारी गराइएको छ। ती शिक्षकलाई आवश्यक कारबाही गरिनेछ। उजुरीका आधारमा पुलिसले आरोपी खुर्शिद आलमलाई पक्राउ गरी जलपाइगढी अदालतमा पेश गरेको छ।