बाल हिंसाविरुद्ध खरसाङ महाकुमा अधिकारीको कार्यालयद्वारा विशेष अभियान
खरसाङ: समाजमा बढ्दै गएको बाल हिंसालाई निर्मूल पार्न साथै यसबाट बालबालिकाहरूलाई सुरक्षित राख्नका लागि खरसाङ महाकुमा अधिकारीको कार्यालयको सक्रियतामा सचेतना अभियान शुरु गरिएको छl दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रलाई लिएर यो कार्यक्रम विद्यालयहरूमा संचालन भइरहेको छl बाल हिंसाविरुद्धको यस अभियानअन्तर्गतको कार्यक्रम आज खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न भयोl विद्यालयकी शिक्षिका एवं सुपरिचित उद्घोषिका गोमा सुब्बाद्वारा संचालन गरिएको यस कार्यक्रममा कक्षा आठ, नौ र दशका विद्यार्थीहरू सहभागी थिएl यस कार्यक्रममा खरसाङ महकुमा अधिकारी कार्यालयबाट कार्यक्रमका कोअर्डिनेटर डम्बर छेत्री, दार्जीलिङ चाइल्ड्लाइन खरसाङ उपकेन्द्रकी प्रभारी ईशा लेप्चा, टीएम मेम्बरहरू देवीमाया तामाङ प्रधान, किशोर छेत्री, दीपशिखा छेत्री, भोलेन्टियर रोशन छेत्री उपस्थित थिएl

मानसिक उत्पीडन, शारीरिक उत्पीडन, यौन उत्पीडन, अवहेलना गर्नु नै हिंसा रहेको कार्यक्रममा दार्जीलिङ चाइल्ड्लाइन खरसाङ उपकेन्द्रकी प्रभारी ईशा लेप्चाले बताइन्l यौन हिंसाबाट बालबालिकाहरूलाई सुरक्षित राख्ने कवच प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस् ऐन (पोक्सो) २०१२ बारेमा संक्षिप्तमा उनले जानकारी दिइन्l ज्यादातर बालबालिकाहरू आफ्नै परिवारका सदस्य वा परिवारकै परिचितबाट यौन शोषणको शिकार हुने गर्छन्l यस्ता हिंसाका सूत्रपात अनि यसबाट सुरक्षित रहने उपायबारे ईशा लेप्चाले आकर्षक शैलीमा सानो प्रतीकात्मक नाटकको रुपमा व्याख्या गरिन्l आफ्नो सुरक्षा आफैले गर्नुपर्ने बारेमा ईशा लेप्चाले अर्को प्रयोगात्मक प्रस्तुति दिइन्l यसमा उनले एउटा बलुनलाई बालबालिकाको प्रतीकको रुपमा प्रस्तुत गरिन्l उनको यो प्रस्तुति विद्यार्थीहरूका लागि निक्कै आकर्षक थियोl कुनै समस्या परे घरमा आमाबाबु वा आफ्ना शिक्षिकालाई सहयोगको लागि भन्नुपर्ने उनले विद्यार्थीहरूलाई अवगत गराइन्l कार्यक्रमका कोअर्डिनेटर डम्बर छेत्रीले भने, ‘छोरीहरूले हिम्मत राख्नुपर्छl आफ्नो मनलाई कमजोर बनाउनु हुन्दैनl’ विद्यार्थीहरूलाई देशको राम्रो नागरिक बन्ने सुझाव उनले दिएl

देवीमाया तामाङ प्रधानले छिट्टो गर्ने बिहे अर्थात बालविवाहको नकारामात्मक प्रभाव बारेमा बताइन्l बालविवाह स्वास्थ्य, परिवार, समाज सबैका लागि घातक रहेको उनले बताइन्l बालविवाह गर्नु कानुनी अपराध रहेको जानकारी उनले दिइन्l दार्जीलिङ किशोर छेत्रीले चाइल्डलाइनले गर्ने बाल सुरक्षाको कार्य बारेमा जानकारी दिएl यसका साथै चाइल्डलाइनको ७X२४ घण्टा सक्रिय रहने नि:शुल्क राष्ट्रिय टेलिफोन परिसेवा १०९८ मा कसरी फोन गर्नुपर्ने भन्ने बारेमा दीपशिखा छेत्रीले यसैमा फोन गरेर प्रत्यक्ष जानकारी दिइन्l यस कार्यक्रममा गैर सरकारी संस्था कन्चनजङ्घा उद्धार केन्द्रका प्रतिनिधी पनि उपस्थित थिएl यस सचेतना कार्यक्रममा मोबाइल फोन र सोसियल मिडियाहरूको दुरुपयोग र सदुपयोगबारेमा पनि विद्यार्थीहरूलाई जानकारी दिइयोl महुकुमा अधिकारीको सक्रियतामा यस्तो कार्यक्रम हरेक महिना दुईवटा विद्यालयमा आयोजना गरिने डम्बर छेत्रीले यस संवाददातालाई जानकारी दिएl



