गान्तोकः सुपर हिट साथै विवादास्पद नेपाली चलचित्र कबड्डी ४ राज्यका हलहरूमा नलगाइदिने तथा नहेरिदिने अपील गर्दै फेरि लामाहरू अघि आएका छन्। अल सिक्किम मङ्क्स एसोसिएशनको ब्यानरमा केही लामाहरूले आज राजधानीमा पत्रकार सम्मेलन गरेर जबसम्म छिमेकी राष्ट्र नेपालमा चलचित्र कबड्डी ४ की नायिका मेरुना मगर र एकजना बैद्ध भिक्षु फुर्वा लामाबीचको विवाद साम्य हुँदैन तबसम्म सिक्किमका हलहरूमा उक्त चलचित्र प्रदर्शन नगर्ने तथा नहेरिदिने अनुरोध गरेका छन्। एसोसिएशनका सदस्यद्वय कर्मा छोपेल भोटिया र सोनाम भोटियाले अझै पनि नेपालमा चलचित्र कबड्डी ४ लाई लिएर सिर्जना भएको विवाद नसुल्झिएकोले आगामी १५ अनि १७ जूनको दिन क्रमैले गान्तोक र नाम्चीका हलमा रिलिज हुने भनिएको चलचित्र कबड्डी ४ लाई स्थगित गर्ने माग गरेका छन्। उनीहरूको भनाइअनुसार लामा फुर्वा तामाङ निर्दोष छन् कारण आजसम्म उनले नायिकामाथि हातपात गरेको एउटै पनि भिडियो तथा फोटो अघि आएको छैन। यसैले नायिका मेरुना मगरले निर्दोष लामामाथि थप्पड़ हिर्काएको तथा अपमान गरेकोमा सार्वजनिक रुपमा माफि माग्नुपर्ने उनीहरूको भनाइ रहेको छ। उक्त घट्नाले नेपाल मात्र नभएर विश्वभरिका लामा र बौद्ध धर्मावलम्वीहरूको अपमान भएको बताउँदै लामाहरूको पवित्र रातो वस्त्रको अपमान कतै सहन नगरिने उनीहरूले थप बताए। चलचित्र कबड्डीमा ४ मा सिक्किमकै एकजना छोरी सुस्मा गुरुङले लगानी गरेको र हालहरूमा चलचित्र प्रदर्शनी नहुँदा उनलाई नोक्सानी हुने बारेमा प्रश्न गर्दा आफूहरूले सिक्किमका हलहरूमा चलचित्र प्रदर्शनी गराउँदै नगराउनु भनेको होइन, जबसम्म नेपालमा विवाद साम्य हुँदैन अनि जबसम्म नायिका मेरुना मगरले आफ्नो गल्ती स्विकार गरेर सार्वजनिक रुपमा माफी माग्दैन तबसम्म मात्र चलचित्रको प्रदर्शनीलाई रोक्ने आफूहरूको माग रहेको लामाहरूको भनाइ रहेको छ। चलचित्र कबड्डी ४ मा एकजना बौद्द भिक्षु बनेका नायक दयाह हाङ राईको भूमिकालाई लिएर पनि लामाहरूले असन्तुष्टि जाहेर गरेका छन्। विवादास्पद बनेको चलचित्रलाई राज्यमा रिलिज हुनमा रोक लगाउने मागको साथ अल इण्डिया बुद्धिष्ट फोरमले अगावै मुख्यमन्त्री पीएस गोले र धर्म मन्त्री सोनाम लामासित पत्रचार गरेको जानकारी गराउँदै मुख्यमन्त्रीले सम्पूर्ण लामा अनि बौद्ध धर्मावलम्वीहरूको धार्मिक भावनालाई बुझेर सही पहल गर्ने एल सिक्किम मङ्क्स एसोसिएशन-ले आशा व्यक्त गरेको छ।