नाम्चीः दक्षिण सिक्किमअन्तर्गत पोकलक कामराङको स्वयं सहायता समूह सङ्घले आज आफ्नो आठौं वर्षगाँठ पालन गऱ्यो। स्थानीय चेम्चेस्थित इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिजम-को सभाकक्षमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण राई मुख्य अतिथि रहेकी थिइन्। यस अवसरमा पोकलक कामराङ क्षेत्रमा स्वयं सहायता समूहको संस्कार बसाल्न योगदान दिनेहरूलाई आयोजक समितिद्वारा अभिनन्दन जनाइयो। यसरी अभिनन्दित हुनेहरूमा राज्य ग्रमाणी विकास संस्थानका निर्देशक विशाल मुखिया र एसआरएलएम-का डीपीएम बनु भुजेल अनि बीपीएम गीता छेत्री रहेका छन्। यस अतिरिक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गर्ने पोकलक कामराङ क्षेत्रका अन्य ९ जना व्यक्तित्वलाई पनि सम्मान जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती कृष्ण राईले स्वयं सहायता समूहको महत्व र आवश्यक्तामाथि प्रकाश पारिन्। विशेष गरेर ग्रामीण क्षेत्रका महिलाहरूले स्वयं सहायता समूहबाट कसरी लाभ उठाउन सक्छ भन्ने बारेमा उनले आफ्नो कुरा राखिन्। यसको साथै वर्तमान एसकेएम सरकारले राज्यका महिलाहरूको हितमा शुरु गरेका विभिन्न योजना बारे पनि जानकारी गराइन्। ती योजनाहरूलाई कार्यान्वयन गर्नको निम्ति विभिन्न महिला स्वयं सहायता समूहहरू तयार हुनपर्ने श्रीमती राईले आफ्नो सम्बोधनमा बताइन्।
कार्यक्रममा राज्य ग्रामिण विकास संस्थानका निर्देशक विशाल मुखियाले पनि सम्बोधन गरे। विभिन्न विभागका अध्यक्ष अनि सल्लाहकारहरूको पनि विशेष उपस्थिति रहेको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।