मंगन। फाइलदेखि फिल्डतर्फ पहल एवं विभागीय निरीक्षण अभियान अवधि हिजो मंगन जिल्लाका जिल्लापाल एबी कार्कीको नेतृत्वमा रहेको एक निरीक्षण टोलीले काबी रोङ्पा, मेनरोङगोङ अनि लिङचोम तिङ्दा ग्राम पञ्चायत क्षेत्रको निरीक्षण गऱ्यो। निरीक्षण टोलीले मनसुनको समयमा विपद्को मूल्याङ्कन, व्यवस्थापन र न्यूनीकरण गर्ने विषयबारे निगरानी गर्दै त्यहाँको आईसीडीएस, स्कूल, बागवाणी, कृषि, पशुपालन एवं पशु चिकित्सा सेवा, मत्स्य पालन फार्म, पीएमजीएसवाई सड़कहरू, वन अनि पर्यटन क्षेत्रको स्थलगत निरीक्षण गऱ्यो।
जिल्लापाल एबी कार्कीको नेतृत्वमा रहेको प्रतिनिधि टोलीमा काबीका महकुमा अधिकारी, खण्ड विकास अधिकारी, सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण, शिक्षा विभाग, राज्य जनकार्य विभाग, वन, विद्युत, सड़क तथा पूल विभाग, पर्यटन, प्रधानमन्त्री ग्रामीण सड़क योजना, बागवाणी, सिचाईं, पशुपालन एवं पशु चिकित्सा सेवा, ग्रामीण प्रबन्धन विभाग, सामाजिक न्याय एवं कल्याण, भू-सुधार एवं आपदा प्रबन्धन, सीसीएसओ अनि आईसीडीएसका सुपरभाइजरहरूको उपस्थिति रहेको थियो।

अप्पर छेवाङबाट शुरु गरिएको भ्रमण कार्यमा प्रतिनिधि टोलीले सड़कको स्थितिबारे क्षेत्रवासीले गरेको गुनासो सुन्ने कार्य गरेर यातायात सम्पर्कमा सुधार ल्याउने आश्वासन दिए। प्रतिनिधि टोलीले मेनरोङगोङ ग्राम प्रशासनिक केन्द्रको निरीक्षण गर्दै त्यहाँका ग्राम पञ्चायतहरू अनि कर्मचारीहरूसँग विविध विषयबारे कुराकानी गरे। जिल्लापाल कार्कीले पञ्चायतगण अनि कर्मचारीहरूलाई सहज प्रशासन व्यवस्था गर्न प्रोत्साहित गरे।