नाम्ची जिल्लामा भाजपाको सेवा, सुशासन तथा गरीब कल्याण अभियान

IMG-20220611-WA0155.jpg

मोदी सरकारले सिक्किम लगायत पूर्वोत्तरको विकासमा कुनै कसर बाँकी राखेको छैन: डा. आशा लाकरा

गान्तोक: मोदी सरकारको ८ वर्ष पूरा भएको अवसरमा चलिरहेको १५ दिवसीय सेवा, सुशासन एवं गरीब कल्याण अभियान अन्तर्गत आज नाम्ची जिल्लाअन्तर्गत नाम्ची बजार अनि राभाङ्लामा भारतीय जनता पार्टीको विशेष कार्यक्रम आयोजन गरियो। यस अवसरमा भाजपा राष्ट्रिय सचिव एवं झारखण्डको राजधानी राँची नगर निगमकी मेयर डा. आशा लाकरा मुख्य अतिथिको रूपमा उपस्थित थिइन् भने प्रदेश उपाध्यक्ष अर्जुन राई, एसबी कार्की, राङगाङ-याङगाङकी क्षेत्र विधायिका राजकुमारी थापा, जिल्ला अध्यक्ष सीएल गुरुङ, महासचिव कुमार राईलगायत विभिन्न मण्डल अध्यक्षगणलगायत कार्यसमिति सदस्य एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। अतिथिगणले वृक्षरोपण एवं सफाई अभियानमा सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सीएल गुरुङले मोदी सरकारको विगत ८ वर्षमा नाम्ची जिल्लाले विभिन्न सौगातहरू पाएको अवगत गराउँदै जिल्लामा राष्ट्रिय राजमार्गहरूको विस्तार तीव्र रूपमा भइरहेको बताए। उनले भालेढुङ्गामा निर्माणाधीन रोपवे परियोजनामा पनि यसपल्टको केन्द्रिय बजेटमा धनराशि आवण्टन गरेर पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न यसले ठूलो भूमिका निर्वाह गर्ने बताए। यसै गरी केन्द्र सरकारका विभिन्न योजनाहरू अन्तर्गत जिल्लावासीले धेरै लाभहरू पाइरहेको र विगत आठ वर्षमा मोदी सरकारद्वारा चलाइएका विविध केन्द्रिय योजना र यसबाट सिक्किमले पाएका लाभहरूबारे विस्तृत विवरण राखेका थिए।
कार्यक्रममा मुख्य अतिथिको रूपमा आफ्नो सम्बोधन राख्दै राष्ट्रिय सचिव डा लाकराले मोदी सरकारको ८ वर्षमा पूर्वोत्तर लगायत सिक्किमको विकासमा विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउँदै सिक्किमलाई पनि विकासको मूलधारामा सामेल गराएर यहाँ विविध विकासीय कार्यहरू भइरहेको बताइन्। उनले चाँड़ै सिक्किमगामी रेलमार्गको निर्माणकार्य पूरा हुने, हवाई अड्डाको निर्माण भइसकेको र वैकल्पिक राष्ट्रिय राजमार्गको निर्माण युद्धस्तरमा चलिरहेको अवगत गराउँदै सबै मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीको हात दह्रिलो बनाउनुपर्ने आह्वान गरिन्। आफ्नो सम्बोधनको क्रममा उनले कार्यकर्ताहरूसित अन्तर्क्रिया पनि गरेकी थिइन्। कार्यक्रमलाई विधायिका राजकुमारी थापालगायत अन्य पदाधिकारीहरूले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमपछि स्थानीयवासीहरूसित अन्तर्क्रिया गर्दै पार्टीद्वारा प्रकाशित पत्रिका वितरण गरियो।

यसै गरी राष्ट्रिय सचिव डा. लाकराले आज साँझ सिङ्ताम बजारमा सेवा, सुशासन तथा गरीब कल्याण अभियानमा सहभागिता जनाइन्। यस अवसरमा पार्टी प्रदेश अध्यक्ष श्री डीबी चौहान, विधायक श्री वाईटी लेप्चालगायत पार्टी पदाधिकारीगण एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। यस अवसरमा सिङ्ताम बजारको परिक्रमा गर्दै बजारवासीमा पार्टीको उपलब्धिहरूबारे अवगत गराउँदै पत्रिका वितरण गरियो। डा. लाकराले भोलि गान्तोकमा सम्पन्न हुने राज्यस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement