सोरेङ। रिञ्चेन्पोङ समष्टि सरकारी कर्मचारी कल्याण संघको तत्वावधानमा आज प्रथम रिञ्चेन्पोङ समष्टि स्तरीय सरकारी कर्मचारी सम्मेलन आयोजन भयो। कार्यक्रममा मुख्यमन्त्री पीएस गोले प्रमुख अतिथि रूपमा उपस्थित थिए। उनको साथमा शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा, मन्त्रीगण, विधायकगण, लोकसभा सांसद, विभिन्न विभाग साथै बोर्ड अनि संस्थानका सल्लाहकारगण र अध्यक्षगण, अधिकारीगण र आम नागरिकको उपस्थिति थियो।
मुख्यमन्त्री पीएस गोलेले सम्बोधन गर्ने क्रममा रिवाले ऐतिहासिक कार्यक्रम आयोजना गरेकोमा बधाई दिँदै वैश्विक महामारी कोविड-१९ को कारण लगभग दुई वर्ष काम गर्न नदिए तापनि एसकेएम सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा अमुल परिवर्तन ल्याएको बताए। मुख्यमन्त्रीले रिञ्चेन्पोङ समष्टिसँग उनको भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै यस समष्टिबाट नै उनको राजनीतिक जीवन शुरुवात भएको बताए। उनले रिञ्चेन्पोङ समष्टिलाई प्राथमिकता दिएर काम गर्ने बताए।
मुख्यमन्त्रीले मंगलबारे एसएल दाउ ग्याछो काजी स्कूलको पुस्तकालय निर्माणको निम्ति मुख्यमन्त्री कोषबाट पाँच लाख रुपियाँ प्रदान गर्ने अनि मंगलबारे स्कूल प्रमुखले राखेको मागप्रति सकारात्मक आश्वासन दिँदै सबै मागहरु यसै वित्तीय वर्षमा पूरा गरिने बताए। मुख्यमन्त्रीले भने, हामीले शिक्षा क्षेत्रलाई ट्र्याकमा ल्याएका छौं। अस्थायी शिक्षक-शिक्षिकालाई स्थायी गर्नको निम्ति वर्तमान सरकारले नीति बनाएको छ। अब अस्थायी शिक्षक-शिक्षिकाको लागि चार वर्षमा सरुवा गरिने नियम बनाउन छिटै क्याबिनेटमा फैसला लिइने छ। यसो गर्नाले सबै शिक्षक शिक्षिकालाई सम्मान न्याय पुग्ने उनको मन्तव्य थियो। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सरकारका उपलब्धिहरूमाथि पनि प्रकाश पारेका थिए।
मुख्यमन्त्री प्रेमसिंह गोलेले आज एसएल दाउ ग्याछो उच्चतर माध्यमिक विद्यालय मंलगबारेमा नवनिर्मित बहुउद्देश्यीय प्रेक्षागृहको विधिवत उद्घाटन गरेर जनतालाई समर्पित पनि गरे। उक्त नवउद्घाटित बहुउद्देश्यीय प्रेक्षागृह कुल लागत २ करोड ४३ लाख ४९ हजार रुपियाँमा निर्माण भएको हो।
आज सम्पन्न कार्यक्रममा रिवाले रिञ्चेन्पोङ क्षेत्र स्तरीय सरकारी कर्मचारी सम्मेलनमा मोठ १७ जना सेवानिवृत्त सरकारी कर्मचारीहरुलाई मुख्यमन्त्री प्रेमसिंह गोलेको बहुलीबाट अभिनन्दन जनाइयो। यसरी नै ४ जना सेवाकालमा नै निधन भएका कर्मचारीका परिवारलाई सम्मान जनाइयो। कार्यक्रममा रिञ्चेन्पोङ समष्टिका उत्कृष्ट सरकारी कर्मचारीको रूपमा रिवाले बेनकुमार छेत्रीलाई सम्मानित गरेको छ। छेत्री हालमा जोरथाङ यातायात विभागमा प्रान्तीय यातायात अधिकारीको रूपमा कार्यरत छन्।
यसरी नै कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह गोलेलाई रिवा, स्फूरण साहित्य प्रकाशन, रिञ्चेन्पोङ समष्टि स्तरीय समिति, रिञ्चेन्पोङ समष्टि स्तरीय पञ्चायत युनिट र रिञ्चेन्पोङ समष्टि विधायक, क्षेत्र प्रभारी र सत्तारूढ पार्टी कार्यकर्ताहरुले पनि अभिनन्दन जनाए।