नयाँ दिल्ली: रणनीतिक रूपले महत्वपूर्ण डोकलाम पठार नजिक पीएलएको संचार टावर औ सैनिकहरूको लागि लगभग एक हजार अस्थायी शेड निर्माण गरेर ड्र्यागनले भारतको चिन्ता बढ़ाइदिएको छ। भारत-चीन-भूटान डोकलाम ट्राई-जंक्शनदेखि केही दूरत्वमा अवस्थित छ जहाँ सड़क निर्माणलाई लिएर गत सन् २०१७ मा भारत-चीनबीच तीव्र सैन्य गतिरोध भएको थियो तथा ७३ दिनसम्म दुवैतिरका सेनाहरू आमने-सामने डटेर बसेका थिए। यो निर्माण भुटानको अमो चू नदीको उपत्याकामा गरिएको छ जहाँबाट भारतको सिलगढ़ी सोझो रेखामा पर्दछ।
चीनको उक्त निर्माण कार्यका तस्वीरहरू अब प्रकाशमा आएका छन् जसमा अमो चू नदीको उपत्याकामा संचार टावरहरू सहित पीएलएका सैनिकहरूको अस्थायी ठेगाना देखिन्छ। यहाँ पीएलएका हजारौं सैनिकहरूलाई राख्नको लागि हालैका महिनाहरूमा लगभग एक हजार अस्थायी सैन्य झोपड़ी र अस्थायी शेडहरू निर्माण गरिएको छ। वास्तवमा सन् २०१७ मा डोकलाममा भारतीय सेनाको कड़ा जवाफी कारबाहीको सामना गरेपछि पीएलएले वैकल्पिक मार्ग भएर त्यै रिजसम्म पुग्ने प्रयास गरिरहेको छ ताकि उसले डोकलामको पश्चिममा भारतीय सुरक्षालाई बाईपास गर्न सकोस्।
डोकलाम एक भिन्नै पठार हो जहाँ सन् २०१७ भन्दा पहिला चीन वा भुटानका सुरक्षा बलहरू मुस्किलले गश्ती गर्न जाने गर्दथे। तर भारतीय सेनासित गतिरोध भएदेखि यता यो क्षेत्र रणनीतिक रूपले महत्वपूर्ण भएको छ। चीनीयाँ सरकारले सन् १९६० मा भुटान, सिक्किम र लद्दाखलाई ‘एकीकृत’ तिब्बतको अंश रहेको दाबी गरेको थियो। यसको विपरीत भारतीय सेनाको मान्यता छ कि डोकलामको पश्चिममा अवस्थित चीन-नियन्त्रित भुटानी क्षेत्रमा कुनै पनि गतिविधिबाट भारतका सुरक्षा हितहरूलाई जोखिममा पार्नेछ। भारतीय सुरक्षा विशेषज्ञहरूको मान्यता छ, डोकलाम पठारमाथिको नियन्त्रणले चीनलाई सामरिक लाभ मिल्नेछ। सिक्किमको नाथुला औ चोला पर्वत क्षेत्रमा वर्ष १९६७ मा भारत-चीन सीमा संघर्ष पश्चात चीनीयाँ सेनाले सिकिमको डोंगक्या पर्वत श्रृंखलामा भारतीय सीमांकनलाई चुनौती दिएको थियो। भारतीय सेनाले ऊचाईँवाला क्षेत्रहरूमा नियन्त्रण कायम गरेपछि धेरैवटा चीनीयाँ किल्लाबन्दी नष्ट भएको थियो। यसैले चीनीयाँ सेनाले भारतको तुलनामा चुम्बी उपत्याकामा आफूलाई कमजोर ठान्दछ, किनभने उपत्याकाको वरिपरी अवस्थित पार्वतीय क्षेत्रहरूलाई भारतीय र भुटानी सेनाले नियन्त्रण गर्दछ। भूटान औ सिक्किमको बीचमा अवस्थित चुम्बी उपत्याकाबाट भारतको रणनीतिक सिलगढ़ी करिडोर देखिन्छ।
भारतका चीफ अफ् डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले गए ८-९ अप्रेलको दिन उत्तर बंगाल र सिक्किमका अग्रिम क्षेत्रहरूको भ्रमण गरेका थिए। यस अवधि भारतीय अधिकारीहरूसित भएको बैठकमा चीनीयाँ निर्माण कार्यहरूको उल्लेख व्यापक रूपमा गरिएको थियो। सिक्किममा भारतीय सीमाना तिब्बतसित टाँसिएको छ। तिब्बतमा चुम्बी उपत्याका सिक्किम र भुटानबीच अवस्थित छ। वास्तवमा विगत लामो समयदेखिको जारी भुटान-चीन सीमा विवादलाई सुल्झाउनको लागि दुई पक्षीय वार्ता उन्नत चरणमा पुगेको छ। भारतलाई चिन्ता छ कि भुटानले आफ्नो उत्तरका क्षेत्रहरूलाई यथावत राख्नको लागि डोकलाम पठारलाई चीनलाई सुम्पिन सक्छ जसपश्चात चीनले त्यहाँबाट उत्तर बंगालको संवेदनशील क्षेत्र सिलगढ़ीमा सोझै नजर राख्न सक्छ।