वित्त अधिनियम २०२३ मा रोक लगाउन राज्यपालले अडिनेस्स ल्याउनुपर्ने ज्याकले गऱ्यो माग

Untitled-1-copy-38

गान्तोकः हिजो १० अप्रेलका दिन सरकारले सिक्किम विधानसभामा ल्याएको प्रस्तावपछि वित्त विधेयकद्वारा सिक्किमे परिभाषा खण्डित भएको विषय सरकारले स्वीकार गरेको पुष्टि भएको जोइन्ट एक्सन काउन्सिल (ज्याक) ले बताएको छ। यसका साथै प्रस्ताव मार्फत धारा ३७१ एफ तरलिकरण भएको कुरा पनि सरकारले विधानसभामा पारित गरेको आफ्नै प्रस्तावमा स्वीकार गरेको ज्याकले दावी गरेको छ। मंगलवार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर ज्याकका उपाध्यक्षद्वय डीएन नेपाल र पासाङ शेर्पाले वित्त विधेयक खारेज गर्नुपर्ने माग दोहोऱ्याए। वित्त विधेयक २०२३ खारेज गर्नुमात्र सिक्किमले वर्तमानमा भोग्दै आएको समस्याको एकमात्र समाधान हो भन्दै यो विधेयकबारे केन्द्र सरकारको कुनै पनि मौखिक आश्वासन स्वीकार्य नहुने बताए।

ज्याकका उपाध्यक्ष पासाङ शेर्पाले वित्त विधेयक २०२३ को सिक्किमसित सम्बन्धि धारा संशोधन गर्न केन्द्र सरकारको वित्त मन्त्रालयबाट ठोष आश्वासन हुनुपर्ने र यो संशोधन नभएसम्मका लागि राज्यपालले आफ्नो विशेषाधिकार प्रयोग गरेर एउटा अडिनेन्स पास गरि वित्त विधेयकको सिक्किमसित सम्बन्धित संशोधनमा रोक लगाउनु पर्छ भन्ने माग गरे। यो दुईवटा विषयमाथि तत्काल काम नभए ज्याकको आन्दोलन निरन्तर अघि बढ्ने पासाङ शेर्पाले बताए। सिक्किमेको परिचय तरलिकरण भएको कुरा स्वीकार गर्दै सरकारले विधानसभामा प्रस्ताव पारित गरेको, तर यसमा सिक्किमेको सुरक्षा हुनुपर्छ भन्ने माग सरकारले नराखेर अनुरोध मात्र केन्द्र सरकारलाई गरेको छ भन्दै उनले सरकारको आलोचना गरे। तथापि सरकारले ल्याएको प्रस्तावलाई पासाङ शेर्पाले जनताको जीत बताए। उनले भने, सिक्किमे जनता र ज्याकले आन्दोलन नगरेको भए सरकारले यो प्रस्ताव पनि ल्याउने थिएन्।

एओएसएसको मुद्दामा १३ जनवरी, २०२३ मा आएको फसेलाबाट नै सिक्किमेहरूमाथि अन्याय र धोका भएको थियो भन्दै हिजो विधानसभामा सरकारले ल्याएको प्रस्तावले गल्ति भएको कुरा सरकारले स्वीकार गरेको प्रणाणित भएको ज्याकका उपाध्यक्ष डीएन नेपालले बताए। ज्याकले उठाएको सिक्किमेको मुद्दालाई सरकारले राजनैतिक रङ्ग दिएर जनमतको अपमान गरेको उनले बताए। सिक्किमेको परिचय र अस्तित्वलाई समाप्त गर्न एओएसएसलाई टुलकिटको रूपमा प्रयोग गरिॅंदै छैन के भन्ने शंका व्यक्त गर्दै डीएन नेपालले सिक्किम सरकारले पनि एओएसएसको खेलौना भएर काम गरेको आरोप लगाए। हिजोको प्रस्ताव सिक्किमे जनताको दबाउमा मात्र आएको तर त्यो प्रस्तावमा कुनै दम नरहेको नेपालको भनाइ छ। ज्याकले १० अप्रेलमा पालन गर्न घोषणा गरेको घरभित्र एकदिन कार्यक्रम सफल भएको दाबी गर्दै सबै समर्थकहरूलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement