गान्तोकः नाम्चीमा आयोजना गरिने राज्यस्तरीय बैशीखी पर्व समारोहको तयारीलाई लिएर आज जिल्लापाल एम. भरनी कुमारको अध्यक्षतामा समीक्षा सभा सम्पन्न भयो। यस सभामा नाम्ची जिल्लाका अतिरिक्त पुलिस अधीक्षक अंकुर अंकेशलगायत नाम्ची सांस्कृतिक मञ्चका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा जिल्लापालले गत दिनमा सम्पन्न भएको सभामा विभिन्न विषयमा विभागलाई दिएको जिम्मेवारको बारेमा पनि जानकारी लिए। यससँगै उनले विभागका अधिकारीहरूको कर्तव्य र जिम्मेवारीहरू पुनः अवगत गराए। आगामी १४-१५ अप्रेलमा सम्पन्न हुने दुई दिवसीय बैशाखी पर्वलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति सम्बन्धित विभागले आफ्नो भूमिका इमान्दारपूर्वक निर्वाह गर्नु पर्ने उनले आग्रह गरे।
यसरी नै समापन कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई गरिने अभिनन्दनको प्रबन्धन लगायत अन्य विषयहरूमा पनि जायजा लिए। यसका साथै आयोजक समितिका सदस्यहरु र लाइन विभागका पदाधिकारीहरुसँग पनि महोत्सवलाई व्यवस्थितरूपमा सञ्चालन गर्नको निम्ति छलफल गरे। उक्त कार्यक्रम नाम्चीस्थित किसान बजारमा सम्पन्न हुने भएको छ भने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने आयोजक समितिले जानकारी गराएको छ।